काठमाडौं - प्राइभेट मेडिकल तथा डेन्टल कलेज एशोसिएशनका अध्यक्ष तथा विराट मेडिकल कलेजका सञ्चालक प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले निजी अस्पतालहरुलाई सरकारले स्वास्थ्य बीमा सेवा प्रदान गरेबापत दिन बाँकी भुक्तानी चाँडै दिन अनुरोध गरेका छन्।
सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा बन्द गराएपनि भुक्तानी नदिएपछि उनले यस्तो आग्रह गरेका हुन्।
सरकारले उक्त भुक्तानी गरिदिए अस्पताल सञ्चालकहरुलाई कर्मचारी,चिकित्सकको तलब तथा औषधि आपूर्तिकर्तालाई भुक्तानी गर्न सहज हुने उनको धारणा छ।
‘राज्यका लागि १०, १५ अर्ब भनेको संसार नै डुबिहाल्ने पैसा त होइन नि,’‘ पैसा दिएर छुटकारा दिनुहोस् न,’ प्राडा कार्कीले भने- ‘सुन्दा १ अर्ब, २ अर्ब बढ्यो रे,जम्मा हामी ३६ वटा संस्था मात्रै छौं निजी ,बाँकी ४ सय ओटा त सरकारी छन् नि’।
उनले सरकारी स्वामित्व मात्रै आफ्नो हो भन्ने लागे ती संस्थालाई भुक्तानी दिन समेत सरकारसमक्ष आग्रह गरेका छन्। सरकारले निजी संस्थाहरुको बाँकी रहेको भुक्तानी दिई उनीहरुलाई बिदा गरिदिनु पर्ने उनको धारणा छ । स्वास्थ्य बिमाको भुक्तानी नदिदाँ निजी अस्पतालले औषधि आपूर्तिकर्ताको रकम दिन नसकेको उनी बताउँछन्।