काठमाडौं- नेपाली बजारमा श्वासप्रस्वास सम्बन्धी समस्याहरु दम तथा सिओपिडीको उपचारमा प्रयोग हुने एक प्रतिष्ठित कम्पनीको चर्चित ब्रान्डसँग मिल्ने गरी नक्कली औषधि बिक्री वितरण भइरहेको फेला परेको छ।
औषधि व्यवस्था विभागले बजारमा नक्कली औषधि बिक्री-वितरण भइरहेको फेला पारेको हो। विभागले बुधबार एक अत्यन्त जरुरी सूचना जारी गर्दै भारतीय औषधि उत्पादक कम्पनी 'सिप्ला लिमिटेड'द्वारा उत्पादित 'सेरोफ्लो रोटाक्याप्स' (SEROFLO ROTACAPS) को जस्तै नक्कली रूप बजारमा पाइएको पुष्टि गरेको हो।
विभागले सम्पूर्ण चिकित्सक, फर्मासिस्ट, अस्पताल, औषधि व्यवसायी तथा सर्वसाधारणलाई सजग रहन र सक्कली औषधि मात्र सिफारिस, बिक्री तथा प्रयोग गर्न आग्रह गरेको छ।
सक्कली र नक्कली कसरी छुट्याउने?
विभागले नक्कली ब्याच (Batch No. 5SA0759, उत्पादन मिति: अप्रिल २०२५, म्याद सकिने मिति: मार्च २०२७) का बट्टाहरूमा केही प्राविधिक त्रुटिहरू फेला पारेको छ। जसका आधारमा सक्कली र नक्कली चिन्न सकिन्छ।
पङ्क्चुएसन (Full Stop) को फरक: सक्कलीको 'Caution' खण्डमा Not to be swallowed को पछाडि कालो रङको फुलस्टप छ भने नक्कलीमा रातो रङको फुलस्टप छ। त्यस्तै, उत्पादकको ठेगानामा 'Kumrek' पछि सक्कलीमा कमा (,) छ भने नक्कलीमा फुलस्टप (.) राखिएको छ।
बट्टाको लेबल: सक्कली औषधिमा भित्रको बट्टामा एउटा मात्र लेबल हुन्छ। तर नक्कलीमा भने भित्रको बट्टाको पुरानो लेबल निकालेर पुन: अर्को लेबल टाँसिएको पाइएको छ।
वार्निङ बक्सको अक्षर: बट्टाको रातो भागमा लेखिने 'SCHEDULE H PRESCRIPTION DRUG' भन्ने चेतावनीमा सक्कलीमा 'SCHEDULE' र 'H' अलग-अलग छन् भने नक्कलीमा 'SCHEDULEH' जोडिएर छापिएको छ।
फेला परेमा के गर्ने?
१. बिरामीले: तुरुन्तै यो औषधिको प्रयोग बन्द गरी आफूले किनेको फार्मेसी वा औषधि पसललाई जानकारी गराउने।
२. फार्मेसीले: तत्काल बिक्री रोकेर मौज्दात छुट्ट्याई थोक विक्रेतालाई फिर्ता गर्ने र विभागलाई खबर गर्ने।
३. थोक विक्रेताले: बजारमा पठाइएको परिमाण फिर्ता मागेर पुनः बिक्री नहुने गरी छुट्टै भण्डारण गर्ने र विभागलाई लिखित जानकारी दिने।
'सेरोफ्लो रोटाक्याप' (Seroflo Rotacap) केका लागि प्रयोग हुन्छ?
यो औषधि मुख्यत: श्वासप्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू को उपचार र नियन्त्रणका लागि प्रयोग गरिन्छ। यसमा दुईवटा औषधिहरूको मिश्रण (Salmeterol र Fluticasone Propionate) पाउडर रूपमा हुन्छ, जसलाई 'रोटाहेलर' वा 'रिभोलाइजर' उपकरणको मद्दतले मुखबाट भित्र तानिने (Inhalation) गरिन्छ।
यो विशेष गरी दम (Asthma): छाती घ्यारघ्यार हुने, सास फेर्न गाह्रो हुने र खोकी लाग्ने दमका बिरामीहरूमा यसले वायुमार्ग (Airways) लाई खुला राख्न मद्दत गर्छ।
सीओपीडी (COPD - Chronic Obstructive Pulmonary Disease): लामो समयसम्म धूम्रपान गरेका वा वायु प्रदूषणका कारण फोक्सोको श्वास नली साँघुरो भएका बिरामीहरूलाई नियमित सास फेर्न सहज बनाउन यो औषधि चलाइन्छ।