काठमाडौं- थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र वरिष्ठ मुटु शल्यचिकित्सक डा भगवना कोइराला नेतृत्वको काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)बीच सम्झौता भएको छ।
प्रसूति गृहमा उपलब्ध नभएका सेवा र सघन उपचार आवश्यक पर्ने नवजात शिशुहरूका लागि शय्या अभाव भएमा किओचले सरकारी अस्पतालकै सहुलियत शुल्कमा उपचार गराउने गरी सम्झौता भएको हो।
किओचका अध्यक्ष एवं वरिष्ठ कार्डियो सर्जन डा. भगवान कोइराला र परोपकार प्रसूति गृहका निर्देशक डा. श्रीप्रसाद अधिकारीबीच बिहीबार द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ।
प्रसूति गृहमा नवजात शिशुको चाप उच्च भई बेड नपाउँदा बिरामीहरूलाई कान्ति बाल तथा त्रिवि शिक्षण अस्पतालमा रेफर गर्ने गरेको थियो। ती अस्पतालमा पनि शय्या नहुँदा बिरामीहरु महँगो शुल्कमा निजी अस्पताल जानुपर्ने बाध्यता रहेको थियो। सोही बाध्यतालाई हटाउन अस्पतालले हालै सञ्चालनमा आएको काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) सँग सरकारी शुल्कमा नै सेवा उपलब्ध गराउने गरी विशेष सहकार्य गरेको डा अधिकारीले जानकारी दिए।
प्रसूति गृहमा दैनिक ८० देखि ९० जनासम्म बिरामी भर्ना हुने र ६० देखि ७० जना महिलाले प्रसूति सेवा लिने गरेका छन्। अस्पतालमा जन्मिएका शिशुहरूमध्ये दैनिक ७ देखि १० जनालाई स्वास्थ्य उपचारका लागि एनआइसीयू तथा स्पेशल केयर बेबी युनिट मा भर्ना गर्नुपर्ने अवस्था रहँदै आएको छ। अस्पतालसँग हाल एनआइसीयू, एससिबियू, कंगारु मदर केयर र अब्जर्भेसन गरी कुल ५२ बेड मात्र सञ्चालनमा छन्।
बेड अपर्याप्त हुँदा अस्पतालले दैनिक ५ देखि ७ जना नवजात शिशुहरूलाई कान्ति बाल अस्पताल वा शिक्षण अस्पतालमा रिफर गर्दै आएको थियो। तर, ती सरकारी अस्पतालहरूमा पनि बेड अभाव हुँदा सेवाग्राहीहरू बाध्य भएर महँगो शुल्कमा निजी अस्पताल जानुपर्ने अवस्था थियो। किओचसँगको यो सम्झौतापछि अब सरकारी दररेटमै गुणस्तरीय उपचार सुनिश्चित हुने विश्वास दुवै पक्षले लिएको छ।
सम्झौताका मुख्य बुँदाहरू:
सरकारी सोसरहकै सहुलियत दर: प्रसूति गृहबाट रिफर भई जाने बिरामीले किओचमा सरकारी अस्पताल सोसरहकै सहुलियत दरमा गुणस्तरीय सेवा पाउनेछन्।
मुटु लगायतका जटिल शल्यक्रिया: नवजात शिशुहरूको मुटु लगायतका जटिल प्रकारका शल्यक्रिया सम्बन्धी सेवाहरू समयमै उपलब्ध गराउन सहज हुनेछ।
शय्या सुनिश्चितता र फलोअप: सम्भव भएसम्म शय्या सुनिश्चित हुने भएकाले बिरामीको फलोअप उपचार प्रक्रिया पनि सहज बन्नेछ।
विपन्न वर्गलाई थप राहत: आर्थिक रूपमा विपन्न वर्गको पहिचान गरी उनीहरूको उपचारमा विशेष सहजीकरण गरिनेछ।
सेवा विस्तार नहुन्जेल सम्झौता लागू हुने
प्रसूति गृहका अनुसार अस्पतालमा थप एनआइसीयू, एससिबियू, कंगारु मदर केयर बेडहरूका साथै पेडियाट्रिक सर्जरी र पेडियाट्रिक सब-स्पेसियालिटी सेवाहरू पूर्ण रूपमा विस्तार नहुन्जेलका लागि किओचसँगको यो सम्झौता निरन्तर लागू रहनेछ।