काठमाडौं- नेपाल मेडिकल काउन्सिलले आफ्नो सेवा प्रवाहलाई अझ पारदर्शी, छरितो, उत्तरदायी र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ नयाँ डिजिटल पोर्टल 'हेलो एनएमसी' सञ्चालनमा ल्याएको छ।
काउन्सिलले आम नागरिक तथा दर्तावाला चिकित्सक दुवैलाई लक्षित गर्दै जिज्ञासा, गुनासो, उजुरी तथा रचनात्मक सुझावहरू अनलाइनमार्फत नै दर्ता गर्न सकिने गरी यो पोर्टल औपचारिक रूपमा सुरु गरेको हो।
यो प्रविधिमैत्री व्यवस्थासँगै अब सेवाग्राहीहरू काउन्सिलको कार्यालयमा भौतिक रूपमा उपस्थित भइरहनुपर्ने बाध्यता अन्त्य भएको काउन्सिलका निमित्त रजिस्ट्रार डा. दिपेन्द्र पाण्डेले जानकारी दिए। काउन्सिलका दैनिक कामकाज, प्रशासनिक सेवा वा समग्र चिकित्सा क्षेत्रसँग सम्बन्धित विषयमा आफ्ना कुराहरू सिधै अनलाइन माध्यमबाट काउन्सिल समक्ष पुर्याउन सकिने व्यवस्था मिलाइएको छ।
यो नयाँ डिजिटल सेवा प्रयोग गर्नका लागि काउन्सिलले विभिन्न ४ वटा सहज तरिकाहरू निर्धारण गरेको छ। काउन्सिलमा दर्ता भएका चिकित्सकहरूले सिधै doctor.nmc.org.np मा लगइन गरी आफ्नो व्यक्तिगत एकाउन्ट मार्फत व्यावसायिक वा प्रशासनिक गुनासो सुरक्षित रूपमा दर्ता गर्न सक्नेछन्।
त्यस्तै, आम नागरिक तथा सर्वसाधारणले काउन्सिलको आधिकारिक वेबसाइट www.nmc.org.np मा गएर त्यहाँ उपलब्ध "Hello NMC" पोर्टलमा क्लिक गरी आफ्ना भनाइहरू राख्न सक्नेछन्।
यसका अतिरिक्त, मोबाइलको क्यामेरा वा क्युआर स्क्यानर एपमार्फत सार्वजनिक सूचनामा रहेको QR कोड स्क्यान गरेर सोझै डिजिटल फारम भर्न तथा काउन्सिलको आधिकारिक इमेल [email protected] मा आवश्यक प्रमाण र लिखित पत्र पठाएर पनि उजुरी दर्ता गराउन सकिने सुविधा दिइएको छ।
उजुरी तथा गुनासोकर्ताको सुरक्षा र सहजतालाई ध्यानमा राख्दै काउन्सिलले यस पोर्टलमा उच्च गोपनीयता र आधुनिक ट्र्याकिङ प्रणाली समेत जडान गरेको छ। जसअनुसार सेवाग्राहीले आफ्नो पहिचान खुलाएर वा आफ्नो नाम पूर्ण रूपमा गोप्य राखी सुरक्षित तवरले उजुरी दर्ता गराउन सक्नेछन्।
नाम खुलाएर गरिएका उजुरीहरूको हकमा समेत उजुरीकर्ताको गोपनीयता पूर्ण रूपमा सुरक्षित राखिने काउन्सिलले स्पष्ट पारेको छ। पोर्टलमा उजुरी दर्ता हुनासाथ प्रणालीले स्वचालित रूपमा एउटा 'Unique Tracking Number' उपलब्ध गराउनेछ, जसको सहायताले उजुरीको प्रक्रिया कुन चरणमा पुग्यो र त्यसको अवस्था कस्तो छ भन्ने सम्पूर्ण लाइभ ट्र्याकिङ अपडेट उजुरीकर्ताले सिधै आफ्नो मोबाइलमा SMS र इमेलमार्फत निरन्तर प्राप्त गर्नेछन्।
यसरी प्राप्त हुने जिज्ञासा र गुनासोहरूको उचित सम्बोधन गर्दै काउन्सिलको सेवालाई अझ उत्कृष्ट र जबाफदेही बनाउन आफूहरू सदैव तत्पर रहेको काउन्सिलले जनाएको छ।