धनगढी - लम्कीचुहा प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट तथा एमडीजीपी विशेषज्ञ डा. कमलेश प्रसाद यादवले लम्कीचुहा नगरपालिकाकी नगरप्रमुख सुशिला शाहीबाट ज्यान मार्ने धम्की र अभद्र व्यवहार भएको आरोप लगाउँदै आफूलाई सुरक्षित वातावरणमा काम गर्न पाउने व्यवस्था मिलाइदिन नेपाल मेडिकल एसोसिएसन धनगढी शाखासँग आग्रह गरेका छन्।
नेपाल मेडिकल एसोसिएसन धनगढी शाखाका अध्यक्षलाई सम्बोधन गर्दै डा. यादवले दिएको निवेदनमा नगरप्रमुख शाहीले लामो समयदेखि अस्पतालमा नआउन भन्दै थर्काउने, अस्पताल आए ज्यानको क्षति हुन सक्ने भन्दै धम्क्याउने तथा असभ्य शैलीमा गालीगलौज गर्ने गरेको उल्लेख गरेका छन्।
निवेदनअनुसार अस्पतालमा सेवाग्राहीबाट गुनासो आएपछि प्रदेशको सामाजिक विकास मन्त्रालय तथा सम्बन्धित निर्देशनालयको टोली अस्पताल पुगेका बेला नगरप्रमुख शाहीले फोनमार्फत डा. यादवलाई अपशब्द प्रयोग गर्दै गालीगलौज गरेको आरोप लगाइएको छ।
डा. यादवले आफूलाई सार्वजनिक रूपमा अपमानित गर्नुका साथै ज्यान मार्ने धम्की दिइएको दाबी गर्दै यस्तो अवस्थामा चिकित्सकले कसरी सुरक्षित रूपमा सेवा दिने भन्ने गम्भीर प्रश्न उठाएका छन्।
उनले निवेदनसँगै उक्त घटनासम्बन्धी अडियो रेकर्डसमेत प्रमाणका रूपमा संलग्न गरेको उल्लेख गर्दै नेपाल मेडिकल एसोसिएसनसँग आफ्नो शान्ति–सुरक्षा सुनिश्चित गरिदिन र आवश्यक पहल गरिदिन आग्रह गरेका छन्।