काठमाडौं- देशभर रेबिजविरुद्धको एन्टिरेबिज खोपको अभाव भइरहेको समयमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई काठमाडौं महानगरपालिकाले खोप उपलब्ध गराएको छ। खरिद प्रक्रियामा भएको ढिलाइका कारण समस्या उत्पन्न भएको समयमा काठमाडौँ महानगरपालिकाले शुक्रबार अस्पताललाई १८ सय भाइल एन्टिरेबिज खोप उपलब्ध गराएको हो।
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शुक्रबार आफैँ अस्पताल पुगेर उक्त परिमाणको खोप अस्पताल प्रशासनलाई हस्तान्तरण गरेकी छिन्।
अस्पतालमा खोप अभावका कारण बिरामी फर्किनुपर्ने सम्भावित जोखिमको सूचना पाएलगत्तै महानगरले द्रुत प्रक्रियाबाट खोप खरिद गरी सहयोग गरेको कार्यवाहक प्रमुख डंगोलले बताइन्।
'जनावरले टोकेपछि उपचारका लागि पुग्ने मुख्य केन्द्र यही अस्पताल हो। रेबिज यस्तो रोग हो जसमा लक्षण पर्खिन सकिँदैन र लक्षण देखिएपछि उपचार सम्भव हुँदैन,' डंगोलले भनिन्, 'यस्तो घातक जोखिमलाई टार्न सबै सरोकारवाला निकाय मिलेर काम गर्नुपर्छ। बिरामीको संवेदनशीलतालाई बुझेर महानगरले अस्पताललाई यो आकस्मिक सहयोग गरेको हो।'
मागको ७ दिनमै सहयोग, तर ९ दिन मात्र पुग्ने
नियमित खरिद प्रक्रियामा प्राविधिक अल्झन आएपछि स्टोरमा मौज्दात न्यून भई अस्पतालले महानगरपालिकासँग खोपका लागि सहयोग मागेको थियो। अस्पतालका निर्देशक डा. अनुप बास्तोलाका अनुसार महानगरमा माग गरिएको सात दिनभित्रै खोप उपलब्ध भएको र यसले तत्कालको ठुलो संकट टारेको छ।
तर, यो सहयोगले पनि अस्पतालमा लामो समय धान्ने अवस्था छैन। अस्पतालमा दैनिक २०० जनाभन्दा बढी व्यक्तिहरू कुकुर तथा अन्य जनावरको टोकाइपछि रेबिजविरुद्धको खोप लगाउन आउने गर्छन्। 'महानगरपालिकाले प्रदान गरेको १८ सय भाइल खोपले बढीमा ९ दिन मात्र पुग्छ,' डा. बास्तोलाले भने, 'अस्पतालको आफ्नै खरिद प्रक्रिया अगाडि बढेको भए पनि मौज्दात सकिन लागेकाले अभाव हुन नदिन यो सहकार्य गरेका हौँ।'