काठमाडौं - कैलालीस्थित लम्कीचुहा प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. कमलेश प्रसाद यादवमाथि लम्कीचुहा नगरपालिकाकी नगरप्रमुख सुशिला शाहीले अपशब्द प्रयोग गर्दै गालीगलौज, अपमान तथा धम्की दिएको घटनाप्रति नेपाल चिकित्सक संघले गम्भीर आपत्ति जनाएको छ।
संघले शुक्रबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य क्षेत्रमा निरन्तर सेवामा खटिएका चिकित्सकमाथि भएको यस्तो अमर्यादित र निन्दनीय व्यवहारको घोर भर्त्सना गरेको छ। नगरप्रमुखजस्तो जिम्मेवार सार्वजनिक पदमा रहेको व्यक्तिबाट पदीय मर्यादाविपरीत गरिएको व्यवहारले चिकित्सक मात्र नभई समग्र स्वास्थ्य क्षेत्रकै सम्मानमाथि आघात पुगेको संघको ठहर छ।
नेपाल चिकित्सक संघले यस्ता घटनाले स्वास्थ्यकर्मीलाई त्रसित बनाउने र स्वास्थ्य सेवाको वातावरण नै प्रभावित हुने भन्दै दोषीमाथि तत्काल कानुनी कारबाही गर्न माग गरेको छ। संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ अनुसार ‘शून्य सहनशीलता’को नीति अवलम्बन गर्दै नगरप्रमुख शाहीलाई अविलम्ब कानुनको दायरामा ल्याउन सम्बन्धित निकायसँग आग्रह गरेको छ।
साथै, चिकित्सक तथा स्वास्थ्यकर्मीले सुरक्षित, सम्मानजनक र भयरहित वातावरणमा सेवा प्रदान गर्न सक्ने अवस्था सुनिश्चित गर्न सरकार र सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नुपर्नेमा पनि संघले जोड दिएको छ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीद्वारा जारी विज्ञप्तिमा स्वास्थ्यकर्मीमाथि हुने कुनै पनि प्रकारका दुर्व्यवहार, धम्की र हिंसाप्रति संघले शून्य सहनशीलताको अडान दोहोर्याउँदै यस्ता घटनाको पुनरावृत्ति रोक्न कडा कानुनी कार्यान्वयन आवश्यक रहेको उल्लेख गरिएको छ।