कैलाली — लम्कीचुहा अस्पतालसँग सम्बन्धित विषयमा सामाजिक सञ्जालमा आएका टिप्पणी र विवादलाई थप नबढाउने तथा अस्पतालको नियमित सेवा–सञ्चालनका लागि अनुकूल वातावरण बनाउने विषयमा सम्बन्धित पक्षबीच सहमति भएको छ।
बिहीबार सामाजिक विकास मन्त्रालय, सुदूरपश्चिम प्रदेश, धनगढीमा आयोजित छलफलमा सामाजिक विकास मन्त्री बेलबहादुर रानामगर, प्रदेशसभा सदस्य दिवानसिंह विष्ट, लम्कीचुहा नगरपालिकाकी नगरप्रमुख सुशीला शाही तथा अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. कमलेश प्रसाद यादव सहभागी थिए।
छलफलपछि जारी गरिएको संयुक्त सहमति पत्रअनुसार लम्कीचुहा अस्पतालका विषयमा सामाजिक सञ्जालमा आएका विषयवस्तुलाई अनावश्यक रूपमा अतिरञ्जित नगर्ने र अस्पतालले आफ्ना स्वास्थ्य सेवा सुचारु रूपमा सञ्चालन गर्न सुरक्षित तथा अनुकूल वातावरण प्रदान गर्न दुवै पक्ष सहमत भएका छन्।
उक्त सहमति पत्रमा नगरप्रमुख सुशीला शाही, निमित्त मेसु डा. कमलेश प्रसाद यादव तथा मन्त्री बेलबहादुर रानामगर र प्रदेशसभा सदस्य दिवानसिंह विष्टको रोहवरमा हस्ताक्षर गरिएको छ।