बाजुरा । नेपालको दुर्गम भूगोल, कमजोर स्वास्थ्य पहुँच र सीमित पूर्वाधारबीच डिजिटल स्वास्थ्य सेवाको विस्तारबारे राष्ट्रिय बहस बाजुराको बुढीगंगा नगरपालिका–४ बाट सुरु भएको छ।
‘द लास्ट डिजिटल हेल्थ समिट’ को पहिलो दिन स्थानीय सेवाग्राही, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी र जनप्रतिनिधिले डिजिटल स्वास्थ्य सेवाप्रतिको आफ्नो अनुभव, बुझाइ र अपेक्षा साझा गरेका छन्।
बडिमालिका नगरपालिका, बुढीगंगा नगरपालिका, बुढीनन्दा नगरपालिका, त्रिवेणी नगरपालिका, स्मार्ट हेल्थ ग्लोबल र स्वास्थ्य खबर फाउन्डेसनको संयुक्त आयोजनामा भएको समिट समुदाय, जिल्ला, प्रदेश र संघीय गरी तीन तहमा सञ्चालन हुने आयोजकले जनाएको छ। यसको उद्घाटन गाउँबाट गरिएको हो।
कार्यक्रममा टेलिहेल्थ सेवामार्फत उपचार पाएका स्थानीय देवबहादुर थापा र कल्पना सार्कीले आफ्ना अनुभव सुनाए।
उच्च रक्तचापका बिरामी थापाले एक्कासि बेहोस भएर ढलेपछि स्थानीय स्वास्थ्यकर्मीले टेलिहेल्थमार्फत विशेषज्ञ चिकित्सकसँग परामर्श गरी आफ्नो ज्यान जोगिएको बताए।
'म अहिले नियमित औषधि सेवन गरिरहेको छु। बाजुरा स्वास्थ्य चौकीमार्फत विशेषज्ञ चिकित्सकसँग परामर्श पनि लिइरहेको छु,' उनले भने।
त्यस्तै, लगातार तीनपटक गर्भपतनको पीडा भोगेकी कल्पना सार्की चौथोपटक गर्भवती भएपछि स्वास्थ्य चौकी पुगेकी थिइन्। स्थानीय स्वास्थ्यकर्मी तारा शाहका अनुसार उनलाई टेलिहेल्थमार्फत स्त्रीरोग विशेषज्ञसँग परामर्श गराइएको थियो। चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गरेपछि अहिले उनको बच्चा ११ महिनाको भएको छ।
महिला स्वास्थ्य स्वयंसेविका लोकसरी थापाले मोबाइल एसएमएसमार्फत गर्भवती महिलालाई नियमित स्वास्थ्य परीक्षणका लागि सम्झाउने गरेको बताइन्। आमा समूहमा उठेका स्वास्थ्य समस्यालाई आवश्यक परे थप उपचारका लागि समन्वय गर्ने गरेको पनि उनले जानकारी दिइन्।
उनले स्वास्थ्यकर्मीसामु आफ्ना समस्या स्पष्ट रूपमा राख्न नसक्ने महिलाका लागि आमा समूहकै बैठकमा भिडियो कलमार्फत चिकित्सकसँग परामर्श गर्ने व्यवस्था विस्तार गर्नुपर्ने आवश्यकता औंल्याइन्।
बुढीगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद जैशीका अनुसार हालसम्म १,१०० भन्दा बढी सेवाग्राहीले टेलिहेल्थ सेवा लिइसकेका छन्। पालिकाका पाँचभन्दा बढी स्वास्थ्य संस्थाबाट सेवा सञ्चालन भइरहेको र क्रमशः सबै स्वास्थ्य संस्थामा विस्तार गर्ने लक्ष्य रहेको उनले बताए।
स्मार्ट हेल्थ ग्लोबलका कार्यकारी निर्देशक मनोज खड्काले दुर्गम क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले डिजिटल स्वास्थ्यमा काम सुरु गरेको बताए।
'म डिजिटल हेल्थको विद्यार्थी हुँ। जहाँ चिकित्सकीय सेवा पुग्न सकेको छैन, त्यहाँ प्रविधिमार्फत सेवा पुर्याउने सोचले काम सुरु गरेको हुँ। यसको सुरुवात आफ्नै पितृभूमि बाजुराबाट गर्न पाउँदा खुसी लागेको छ,' उनले भने।
विश्व स्वास्थ्य संगठनलगायत अन्तर्राष्ट्रिय संस्थामा डिजिटल स्वास्थ्य नीतिको क्षेत्रमा काम गरिसकेका सुशील लेखकले डिजिटल स्वास्थ्यको अवधारणा र यसको आवश्यकता स्पष्ट पारे।
'डिजिटल हेल्थको उद्देश्य स्वास्थ्य सेवाको पहुँच नपुगेका समुदायलाई जोड्नुका साथै सेवालाई सुलभ, छरितो र भरपर्दो बनाउनु हो,' उनले भने।
बुढीगंगा नगरपालिकाका प्रमुख रामबहादुर बानियाँले आधारभूत अस्पताल अझै निर्माणाधीन रहेको र विशेषज्ञ चिकित्सकको अभावका कारण तीन वर्षअघि टेलिहेल्थ सेवा सुरु गरिएको जानकारी दिए।
-1782610632.jpg)
'यस सेवाले गाउँमै विशेषज्ञ चिकित्सकको पहुँच उपलब्ध गराएको छ। सामान्य उपचारका लागि धनगढी वा काठमाडौं धाउनुपर्ने बाध्यता धेरै हदसम्म घटेको छ,' उनले भने।
कार्यक्रममा दार्चुलाको अपिहिमाल गाउँपालिका तथा बाजुराका बडिमालिका, त्रिवेणी र बुढीनन्दा स्थानीय तहका प्रमुख तथा प्रतिनिधिको पनि सहभागिता रहेको थियो।
बाजुराबाट सुरु भएर धनगढी हुँदै काठमाडौंसम्म पुग्ने तीन तहको यस सम्मेलनले डिजिटल स्वास्थ्य सेवाको 'अन्तिम तह' अर्थात् दुर्गम समुदायको वास्तविक अनुभवलाई राष्ट्रिय नीति, योजना र लगानीसँग जोड्ने लक्ष्य लिएको आयोजकले जनाएको छ।
समिटअन्तर्गत पहिलो चरण असार १३ गते बुढीगंगा नगरपालिकामा सम्पन्न भएको छ भने दोस्रो दिन असार १४ गते बाजुराको सदरमुकाम मार्तडीमा कार्यक्रम हुनेछ। प्रदेशस्तरीय सम्मेलन असार २० गते धनगढीमा र राष्ट्रिय सम्मेलन साउन ३ गते काठमाडौंमा आयोजना गरिनेछ।
-1782610669.jpg)