काठमाडौं- स्वास्थ्य पत्रकार सरोज ढुंगेल ‘रोटरी जोर्नो अवार्ड–२०२६’ बाट सम्मानित भएका छन्। स्वास्थ्य पत्रकारितामार्फत जनस्वास्थ्यका मुद्दा उजागर गर्दै नागरिकलाई सुसूचित बनाउन र सम्बन्धित निकायको ध्यानाकर्षण गराउन पुर्याएको उल्लेखनीय योगदानको कदरस्वरूप उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो।
ढुंगेल गोरखापत्र दैनिकमा कार्यरत छन्। रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) ले शुक्रबार काठमाडौंमा आयोजित विशेष समारोहमा ढुंगेललाई ‘रोग रोकथाम तथा उपचार’ विधामा उत्कृष्ट पत्रकार घोषणा गर्दै नगद ५१ हजार रुपैयाँ, सम्मानपत्र तथा अवार्ड प्रदान गरेको हो। उनलाई रोटरी इन्टरनेसनलका निर्देशक वासुदेव गोल्यान तथा डिस्ट्रिक्ट गर्भनर बिनोद कोइरालाले संयुक्त रूपमा सम्मान गरेका थिए।
लामो समयदेखि स्वास्थ्य क्षेत्रका जनचासोका विषयमा निरन्तर कलम चलाउँदै आएका ढुंगेलका समाचारले रोगको रोकथाम, उपचार सेवा, औषधि व्यवस्थापन, जनस्वास्थ्य, सरकारी स्वास्थ्य नीति, स्वास्थ्य सेवा प्रवाह तथा नागरिकको स्वास्थ्य अधिकारसँग प्रत्यक्ष सरोकार राख्ने विषयलाई प्राथमिकताका साथ उठान गर्दै आएका छन्।
रोटरीका अनुसार ढुंगेलका समाचारले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या र चुनौती उजागर गर्नुका साथै सम्बन्धित निकायलाई जिम्मेवार बनाउन, नागरिकलाई तथ्यपरक स्वास्थ्य सूचना उपलब्ध गराउन तथा स्वास्थ्य क्षेत्रको सुधारका लागि सार्वजनिक बहस सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेका छन्।
यस वर्षको अवार्डका लागि सात वटा विधामा देशभरबाट ५० जना पत्रकारले प्रतिस्पर्धामा भाग लिँदै २५७ वटा समाचार सामग्री समावेश गरेका थिए। छनोट समितिका अध्यक्ष सुरेश आचार्यका अनुसार समाचार सामग्रीको गुणस्तर, विषयवस्तुको गहिराइ, सामाजिक प्रभाव, तथ्यपरकता तथा पत्रकारितामार्फत समाजमा पुर्याएको योगदानका आधारमा उत्कृष्ट पत्रकार छनोट गरिएको हो।
यस वर्ष मातृ तथा शिशु स्वास्थ्य विधामा उकालोका सागर बुढाथोकी, खानेपानी, सरसफाइ तथा स्वच्छतामा सुनसरीका विकल रेग्मी, वातावरण, जलवायु परिवर्तन तथा उत्थानशीलतामा सगरमाथा एफएमकी अर्वशी बस्न्यात, सामुदायिक तथा आर्थिक विकासमा पोखराका विजय नेपाल, स्थानीय शान्ति तथा द्वन्द्व रोकथाममा रुपा गहतराज र आधारभूत शिक्षा, साक्षरता तथा डिजिटल साक्षरता विधामा गोरखाका सुदीप कैनी सम्मानित भएका छन्।
त्यस्तै, नेपाली पत्रकारितामा दीर्घकालीन योगदानको कदरस्वरूप वरिष्ठ पत्रकार आदित्यमान श्रेष्ठलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ। रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ ले सन् २०११ देखि सामाजिक उत्तरदायित्व र विकास पत्रकारिताको प्रवर्द्धन गर्ने उद्देश्यले यो प्रतिष्ठित अवार्ड प्रदान गर्दै आएको छ।