धरान- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको दन्त सेवालाई थप प्रभावकारी, गुणस्तरीय तथा विशिष्टीकृत बनाउने उद्देश्यका साथ कलेज अफ डेन्टल सर्जरीमा अत्याधुनिक 'सिएस ९६०० फूल एफओभी' मोडलको कोन बिम कम्प्युटेड टोमोग्राफी (सिबिसिटी) सेवा सञ्चालनमा ल्याइएको छ।
विश्वस्तरीय प्रविधिको यो डिजिटल इमेजिङ मेसिन केयरस्ट्रिम कम्पनीको हो। कलेज अफ डेन्टल सर्जरी अन्तर्गतको ओरल मेडिसिन एन्ड रेडियोलोजी विभागमा आयोजित एक विशेष समारोहका बीच निमित्त कार्यालय प्रमुख डा. इन्द्र लिम्बु र प्रा.डा. शिव लाल शर्माले संयुक्त रूपमा रिबन काटेर उक्त मेसिनको औपचारिक उद्घाटन गरेका छन्। उद्घाटन समारोहमा सहायक अस्पताल निर्देशक डा. विजय श्रेष्ठ, कलेज अफ डेन्टल सर्जरीका चिफ प्रा.डा. नविन अग्रवाल, का.मु. सह-रजिष्ट्रार सागर ताम्राकार, प्रवक्ता प्रा.डा. शमशेर श्रेष्ठ, मेट्रोन कला थापा लगायत विभागीय प्रमुखहरू, स्वास्थ्यकर्मी तथा स्थानीय सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
प्रतिष्ठानद्वारा जारी विज्ञप्ति अनुसार यो अत्याधुनिक सिबिसिटी प्रणाली नवीनतम डिजिटल इमेजिङ प्रविधिमा आधारित उच्चस्तरीय निदान प्रणाली हो, जसले आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगमा न्यून विकिरणमा पनि उच्च स्पष्टता भएको थ्रीडी तस्बिरहरू उपलब्ध गराउँदछ। यस प्रविधिले बिरामीको दाँत, कमलो तन्तु, स्नायु प्रणाली र बङ्गाराको हड्डीको सूक्ष्म अध्ययन गर्न मद्दत गर्दछ। यो प्रविधिको आगमनसँगै विशेषगरी दाँत, मुख तथा च्यापु र नाक-कान-घाँटी सम्बन्धी रोगहरूको उपचारमा ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ।
यो मेसिन रोगको सुरुवाती अवस्थामै सही पहिचान गरी उचित उपचारको खाका तयार गर्न, डेन्टल इम्प्लान्ट राख्नु अघि हड्डी र नसाको अवस्थाको सटिक मूल्यांकन तथा इम्प्लान्ट प्लानिङ गर्न, मुख तथा अनुहारको जटिल शल्यक्रिया गर्नु अगाडि शल्यक्रिया गरिने क्षेत्रको विस्तृत अध्ययन गर्न अत्यन्तै उपयोगी रहने विज्ञप्तिमा उल्लेख छ। यसका साथै उपचार वा शल्यक्रियाको प्रभावकारी अनुगमन गर्न तथा अर्थोडोन्टिस, पेडोडोन्टिस र टीएमजे (बंगाराको जोर्नीको समस्या) को विशिष्ट मूल्याङ्कन गर्न समेत यो मेसिन प्रभावकारी हुनेछ।
प्रतिष्ठानले हाल यो सेवाअन्तर्गतका विभिन्न परीक्षणहरू तोकिएको सुलभ शुल्कमा उपलब्ध गराएको छ। बिरामीहरूले समयमै गुणस्तरीय तथा आधुनिक निदान सेवा पाउन सकून् भन्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको यो मेसिनले परम्परागत वा साधारण सिटी स्क्यान र एक्स-रेको तुलनामा विकिरण समेत निकै कम उत्सर्जन गर्दछ। यस उच्च सुरक्षा विशेषताका कारण स्क्यान गराउने बिरामी मात्र नभई मेसिन सञ्चालन गर्ने स्वास्थ्यकर्मीहरू समेत विकिरणको जोखिमबाट सुरक्षित रहन्छन्।