काठमाडौं, १४ असार । इन्टरनेसनल इनर ह्विल डिस्ट्रिक्ट ३५० को अध्यक्षमा सन् २०२६/२०२७ कार्यकालका लागि डाक्टर श्रृष्टी श्रेष्ठ प्रजापति चयन भएकी छन्।
महिलाहरूको विश्वकै सबैभन्दा ठूलो सामाजिक संस्थाका रूपमा परिचित इनर ह्विलको उद्देश्य महिला सशक्तिकरण, आपसी मित्रता र सामाजिक सेवा गर्नु हो। सन् १९२५ मा बेलायतको म्यान्चेस्टरबाट सुरु भएको यो संस्था हाल विश्वभर १०० भन्दा बढी राष्ट्रमा फैलिएको छ भने नेपालमा इनर ह्विल डिस्ट्रिक्ट ३५० अन्तर्गत ४४ वटा इनर ह्विल क्लबहरू सक्रिय रहेका छन्।
नवनिर्वाचित अध्यक्ष डाक्टर प्रजापति सन् २०१६ मा इनर ह्विल क्लब अफ मध्यपुरको संस्थापक अध्यक्ष भएकी थिइन्। उनी पेसाले स्त्री क्यान्सर रोग विशेषज्ञ हुन् र हाल भक्तपुर क्यान्सर अस्पताल तथा बिएण्डबी अस्पतालमा कार्यरत छिन्।
लामो समयदेखि सामाजिक र चिकित्सा क्षेत्रमा सक्रिय उनको चयनले नेपालमा इनर ह्विलको सामाजिक सेवा र महिला सशक्तिकरणका एजेन्डाहरूलाई अझ प्रभावकारी रूपमा अघि बढाउने विश्वास लिइएको छ।