जुम्ला- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत चिकित्सकहरूमाथि अभद्र व्यवहार गरेको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार चन्दननाथ नगरपालिका वडा नम्बर ३ बस्ने वर्ष अन्दाजी ३० का लव बहादुर सेजुवाललाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको हो।
गत असार १० गते दिउँसो अन्दाजी १२:०० बजेको समयमा प्रतिष्ठानको आकस्मिक कक्ष भित्र आफ्नो जिम्मेवारी निवाइरहेका चिकित्सकहरूमाथि सेजुवालले मादक पदार्थ सेवन गरी होहल्ला गर्दै अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ। उनलाई घटनालगत्तै प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीका अनुसार निज सेजुवालले यसभन्दा पहिले पनि प्रतिष्ठानभित्र अनाधिकृत रूपमा प्रवेश गरी अभद्र व्यवहार गर्ने गरेको बुझिएको छ।
उक्त घटनाका सम्बन्धमा 'स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन २०६६ (पहिलो संशोधन २०७९)' को कसुर बमोजिम असार ११ गते मुद्दा दर्ता गरिएको छ। जिल्ला अदालत जुम्लाबाट सोही मितिदेखि लागू हुने गरी ५ दिनको म्याद थप अनुमति प्राप्त गरी निजमाथि थप अनुसन्धान कार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रवक्ता एवं प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीले जानकारी दिएका छन्।
हेरौं प्रेस विज्ञप्ति
विषय – चिकित्सकहरुमाथि अभद्र ब्यवहार गर्ने ब्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको।
मिति २०८३।०३।१० गते दिउँसो अन्दाजी १२:०० बजेको समयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला भित्र रहेको अति संवेदनशील (आकस्मिक कक्ष) कक्ष भित्र आफ्नो जिम्मेवारी निभाईरहनुभएका प्रतिष्ठानमा कार्यरत चिकित्सकहरुमाथि जुम्ला जिल्ला चन्दननाथ नगरपालिका वडानं ३ बस्ने बर्ष अन्दाजी ३० को लव बहादुर सेजुवालले मादक पदार्थ सेवन गरी हो हल्ला गर्दै प्रवेश गरी अभद्र ब्यवहार गरेकोमा निजलाई तत्काल नियन्त्रणमा लिईएको।
निज कसुरवाला लव बहादुर सेजुवालले यस भन्दा पहिले पनि प्रतिष्ठान भित्र अनाधिकृत रुपमा प्रवेश गरी अभद्र ब्यवहार गर्ने गरेको भन्ने बुझिएको। उल्लेखित घटना सम्बन्धमा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन २०६६ (पहिलो शंसोधन २०७९) को कसुर बमोजिम मिति २०८३।०३।११ गते मुद्दा दर्ता गरी सम्मानित जुम्ला जिल्ला अदालत जुम्लाबाट सोही मितिमा ५ दिनको म्याद थप अनुमती समेत प्राप्त गरी अनुसन्धान कार्य जारी रहेको।
प्रवक्ता
प्रहरी निरीक्षक
(लोकेन्द्र अधिकारी)
जिल्ला प्रहरी कार्यालय जुम्ला