काठमाडौं- सरकारले पुनर्संरचनाको तयारी गरिरहेको स्वास्थ्य बीमा बोर्डमा नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बोर्डको अध्यक्ष र कार्यकारी निर्देशक पदका लागि आवेदन दिने उम्मेदवारहरूको नाम सार्वजनिक गरेको छ।
अध्यक्ष पदका लागि पाँच जनाले आवेदन दिएका छन्। आवेदन दिनेमा डा सुवास प्याकुरेल, सिमृन काफ्ले, निजन उपाध्याय, सुमन चन्द्र गुरुङ र महेश सुवेदी रहेका छन्।
अध्यक्षका लागि दरखास्त दिनेमध्ये डा प्याकुरेल स्वास्थ्य बीमाको सुरुवातदेखि त्यसलाई बलियो बनाउने पक्षमा धेरै लेख्ने र बोल्ने व्यक्तिमा पर्छन्। स्थ्य क्षेत्र सुधार र बीमा बलियो बनाउने अभियानमा सक्रिय छन् । सिमृन काफ्ले जनस्वास्थ्य अधिकृत हुन् । अहिले उनी गण्डकी प्रदेश अन्तर्गत स्वास्थ्य कार्यालयमा कार्यरत छिन्। त्यसैगरी निजन उपाध्याय बोर्डकी पूर्व सदस्य हुन्। उनलाई नेपाली कांग्रेसबाट स्वास्थ्य मन्त्री बनेका मोहन बहादुर बस्नेतले २०८० मा सदस्य नियुक्त गरेका थिए। त्यसैगरी गुरुङ जनस्वास्थ्यकर्मी हुन्। उनले विभिन्न आइएनजिओ, एनजिओ र निजी स्वास्थ्य संस्थासँग सम्बध्द रहेर काम गरेका छन्।
यस्तै, कार्यकारी निर्देशक पदका लागि १२ जनाले आवेदन दिएका छन्। उक्त पदका लागि राधेश्याम गिरी, राजेन्द्र कुमार पोख्रेल, रोशन कुमार महतो, सुमन चन्द्र गुरुङ, मुक्तिनाथ खनाल, शक्ति बस्नेत, गंगाप्रसाद जोशी, बिमला भट्ट, पारस अधिकारी, प्रमोद कुमार यादव, होमनाथ गैरे र दिपेन्द्र कुमार यादव ले आवेदन दिएका छन्।
सुमन चन्द्र गुरुङले अध्यक्ष र कार्यकारी निर्देशक दुवै पदका लागि आवेदन दिएका छन्। स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी, पारदर्शी र दिगो बनाउने उद्देश्यसहित सरकारले स्वास्थ्य बीमा बोर्डको पुनर्संरचनाको तयारी गरिरहेको छ। नीति तथा कार्यक्रम र आगामी बजेटमार्फत स्वास्थ्य बीमा कार्यक्रमलाई ‘पुनर्संरचना’ गर्ने प्रतिबद्धता व्यक्त गरिसकेको सरकारले बोर्डको नयाँ नेतृत्वमार्फत कार्यक्रमलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
बोर्डको अध्यक्ष र कार्यकारी निर्देशक नियुक्तिका लागि अब योग्यता परीक्षण, अन्तर्वार्ता तथा छनोट प्रक्रियापछि सरकारले अन्तिम निर्णय गर्नेछ।