काठमाडौं - उच्च अदालत पाटनले नेपाल मेडिकल काउन्सिल (एनएमसी)को आधुनिक चिकित्सा (एलोपेथी) सम्बन्धी नियमन गर्ने कानुनी अधिकारलाई सदर गर्दै स्पार्क इन्टरनेसनल हेल्थ रिसोर्ट प्रा.लि. ले दायर गरेको रिट निवेदन खारेज गरेको छ।
डा. चेतना पौडेलसमेत जोडिएको उक्त मुद्दामा निवेदक पक्षले नेपाल मेडिकल काउन्सिलले आफ्नो कानुनी क्षेत्राधिकारभन्दा बाहिर गई रिसोर्टमा अनुगमन गरेको तथा अनावश्यक दुःख दिएको दाबी गर्दै अदालतमा रिट दायर गरेको थियो।
अदालतले उक्त दाबीलाई अस्वीकार गर्दै नेपाल मेडिकल काउन्सिलको नियामक अधिकारलाई वैधानिक ठहर गरेको हो।
फैसलासँगै आधुनिक चिकित्सा (एलोपेथी) को अभ्यास, अनुगमन र नियमन गर्ने कानुनी अधिकार नेपाल मेडिकल काउन्सिलमै निहित रहेको स्पष्ट भएको छ। साथै, नेचुरोपेथीलगायत वैकल्पिक चिकित्सा प्रणालीमा दर्ता भएका स्वास्थ्यकर्मी वा संस्थाले आधुनिक चिकित्सा सेवा, निदान वा उपचारसम्बन्धी क्षेत्रमा हस्तक्षेप गर्न नपाउने फैसलाले पुष्टि गरेको छ।
