काठमाडौं — नेपाल चिकित्सक संघले नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले सामाजिक सञ्जालमार्फत नेपाल मेडिकल काउन्सिल (एनएमसी) र चिकित्सकहरूमाथि गरेको भनिएको भ्रामक, आधारहीन तथा मानहानिपूर्ण अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै साइबर ब्यूरोसँग कानुनी कारबाहीको माग गरेको छ।
संघले बुधबार जारी प्रेस विज्ञप्तिमा नेपाल मेडिकल काउन्सिलले प्रचलित कानुनअनुसार तथ्य र प्रमाणका आधारमा कामकारबाही गरिरहेको अवस्थामा काउन्सिल र त्यसका पदाधिकारीविरुद्ध तथ्यहीन तथा कपोलकल्पित अभिव्यक्ति दिइएको भन्दै त्यसको घोर भर्त्सना गरेको छ। संघले निमित्त रजिस्ट्रार डा. दिपेन्द्र पाण्डेसहित काउन्सिलका पदाधिकारीहरूको मानमर्दन र चरित्रहत्या हुने गरी गरिएका गतिविधिको आवश्यक छानबिन गरी साइबर अपराधसम्बन्धी कानुनअन्तर्गत कारबाही अघि बढाउन सम्बन्धित निकायसँग माग गरेको छ।
यसैबीच, संघले नेपाल प्रहरीको साइबर ब्यूरोलाई औपचारिक पत्र पठाउँदै पूर्वसचिव उपाध्यायले फेसबुकलगायत सामाजिक सञ्जालमार्फत नेपाल मेडिकल काउन्सिल र चिकित्सकहरूलाई लक्षित गरी निरन्तर रूपमा भ्रामक, आधारहीन, मानहानिपूर्ण तथा गैरजिम्मेवारपूर्ण सामग्री प्रकाशित गर्दै आएको आरोप लगाएको छ।
पत्रमा चिकित्सा विज्ञानसँग सम्बन्धित प्राविधिक विषयमा प्रमाणविहीन दाबी र गलत सूचना फैलाएर सस्तो लोकप्रियता खोजिएको उल्लेख गर्दै यस्ता गतिविधि प्रचलित विद्युतीय कारोबार ऐनविपरीत दण्डनीय अपराध भएको दाबी गरिएको छ।
संघका अनुसार यस्ता सामग्रीका कारण बिरामी र सर्वसाधारणमा चिकित्सा प्रणालीप्रति भ्रम, त्रास र अविश्वास बढेको, चिकित्सक र बिरामीबीचको विश्वासमा असर परेको तथा स्वास्थ्यकर्मीहरूको सुरक्षामा समेत चुनौती सिर्जना भएको छ। स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा अफवाह फैलिँदा समग्र स्वास्थ्य प्रणालीप्रति नागरिकको भरोसा कमजोर हुने जोखिम रहेको पनि संघको भनाइ छ।
नेपाल चिकित्सक संघले सामाजिक सञ्जालमा प्रकाशित भ्रामक सामग्री तत्काल हटाउन लगाई घटनाको अनुसन्धान गरी प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न साइबर ब्यूरोसँग आग्रह गरेको छ। उजुरीसँगै संघले सामाजिक सञ्जालमा प्रकाशित भनिएका केही पोस्टका डिजिटल प्रमाणसमेत संलग्न गरेको जनाएको छ।
यसअघि जारी प्रेस विज्ञप्तिमा पनि संघले नेपाल मेडिकल काउन्सिलको प्रतिष्ठा र पदाधिकारीहरूको मर्यादामाथि आघात पुग्ने अभिव्यक्ति अस्वीकार्य रहेको उल्लेख गर्दै यस्ता गतिविधिविरुद्ध कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई अनुरोध गरेको थियो।