काठमाडौं- क्यान्सर पहिचान (निदान) का लागि आवश्यक बायोप्सी, इम्युनोहिस्टोकेमिस्ट्री (आईएचसी) र फ्लो साइटोमेट्रीलगायत अत्याधुनिक परीक्षण सेवा भक्तपुर क्यान्सर अस्पतालमै उपलब्ध हुने भएको छ।
अस्पतालका कार्यकारी निर्देशक डा. उज्वल चालिसेका अनुसार यी परीक्षण अस्पतालमै उपलब्ध भएपछि बिरामीहरूले बायोप्सी गराएर विस्तृत रिपोर्टका लागि विदेश वा अन्य निजी प्रयोगशाला धाउनुपर्ने बाध्यता हटेको छ।
किन आवश्यक पर्छ आईएचसी र फ्लो साइटोमेट्री?
डा. चालिसेका अनुसार क्यान्सर भएको आशंका लागेपछि गरिने प्रारम्भिक बायोप्सीले मात्र सबै अवस्थामा रोगको ठ्याक्कै प्रकार वा गम्भीरता निर्धारण गर्न सक्दैन। त्यसका लागि आईएचसी र विशेषगरी रगत तथा बोनम्यारो (हाडभित्रको मासी) सँग सम्बन्धित क्यान्सरको गहिराइ बुझ्न 'फ्लो साइटोमेट्री' जस्ता विशेष परीक्षण आवश्यक पर्छ।
'नेपालमा यी परीक्षण गर्ने सुविधा सीमित भएकाले धेरै अस्पतालहरूले नमुना (स्याम्पल) विदेश पठाउने गरेका छन्,' डा. चालिसेले भने, 'यसले गर्दा बिरामी र परिवारलाई आर्थिक भार मात्र पर्दैन, रिपोर्ट आउन ढिला हुँदा उपचार सुरु गर्नुपर्ने अत्यन्तै महत्वपूर्ण समय (गोल्डेन आवर) समेत गुम्ने खतरा रहन्छ।'
भक्तपुर क्यान्सर अस्पतालले हाल १२५ भन्दा बढी प्यानलको आईएचसी, बायोप्सी र फ्लो साइटोमेट्रीका सम्पूर्ण परीक्षणहरू सरकारको स्वास्थ्य बिमाकै दररेटमा उपलब्ध गराइरहेको जनाएको छ। यसले विपन्न तथा सर्वसाधारण बिरामीलाई ठूलो राहत मिल्ने विश्वास अस्पतालले लिएको छ।
साथै, अस्पतालले आगामी दिनमा क्यान्सरको आनुवंशिक पहिचानका लागि अत्याधुनिक एनजीएस सेवा समेत भित्र्याउने तयारी गरिरहेको छ।