काठमाडौं- अस्पतालका कर्मचारीहरूले सेवाग्राहीप्रति गर्ने व्यवहार, पेसागत आचरण, राजनीतिक तटस्थता तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न नयाँ आचारसंहिता लागू गरिएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जारी गरेको उक्त आचारसंहितामा अस्पतालमा कार्यरत सबै कर्मचारीले अनिवार्य रूपमा पालना गर्नुपर्ने आचरण र जिम्मेवारी स्पष्ट रूपमा उल्लेख गरिएको छ।
आचारसंहिताअनुसार कर्मचारीले आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्दा कुनै पनि राजनीतिक आस्था वा विचारबाट प्रभावित हुन नहुने तथा पूर्ण रूपमा राजनीतिक तटस्थता कायम गर्नुपर्ने व्यवस्था गरिएको छ। सेवाग्राहीको अधिकारको सम्मान र संरक्षण गर्न प्रतिबद्ध रहनुपर्ने तथा महिला, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका र अशक्त व्यक्तिप्रति विशेष सहयोगी व्यवहार गर्नुपर्ने उल्लेख गरिएको छ।
त्यस्तै, बिरामी, कुरुवा तथा सेवाग्राहीप्रति सम्मानजनक, शिष्ट, सहानुभूतिपूर्ण र सेवामुखी व्यवहार गर्नुपर्ने, जात, धर्म, लिङ्ग, भाषा, आर्थिक अवस्था वा अन्य कुनै आधारमा विभेद नगरी स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने व्यवस्था गरिएको छ। आकस्मिक बिरामी, गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकताका साथ सेवा दिनुपर्ने पनि आचारसंहितामा उल्लेख छ।
मन्त्रालयले बिरामीको व्यक्तिगत तथा स्वास्थ्यसम्बन्धी विवरणको गोपनीयता कायम राख्नुपर्ने, उपचार, सेवाशुल्क तथा सेवा प्रक्रियाबारे स्पष्ट जानकारी दिनुपर्ने र अनावश्यक रूपमा बिरामीलाई प्रतीक्षा गराउने वा विभिन्न कक्षमा भौतारिन बाध्य पार्ने कार्य गर्न नहुने व्यवस्था गरेको छ।
आचारसंहिताले कर्मचारीलाई आफ्नो पेसागत दक्षता, इमान्दारिता, निष्पक्षता र उत्तरदायित्वका साथ गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन दिएको छ। साथै सेवाको क्रममा कुनै पनि प्रकारको घुस, कमिसन, उपहार वा अन्य अनुचित लाभ लिन, दिन वा माग गर्न पूर्ण रूपमा निषेध गरिएको छ।
अस्पतालको सम्पत्ति, औषधि, उपकरण तथा अन्य स्रोत–साधनको संरक्षण गर्नुपर्ने, संक्रमण नियन्त्रण, सरसफाइ तथा स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका मापदण्ड पूर्ण रूपमा पालना गर्नुपर्ने व्यवस्था पनि गरिएको छ। सहकर्मी तथा सेवाग्राहीप्रति सम्मानजनक व्यवहार गर्नुपर्ने तथा कुनै पनि प्रकारको शारीरिक, मानसिक वा यौन दुर्व्यवहार तथा उत्पीडन गर्न नहुने उल्लेख छ।
विपद्, महामारी तथा आकस्मिक अवस्थाका बेला उच्च जिम्मेवारी र समर्पणका साथ स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने तथा आफ्नो व्यवहारबाट hospital को गरिमा र जनविश्वास अभिवृद्धि हुने कार्य गर्नुपर्ने आचारसंहिताले स्पष्ट पारेको छ।
सामाजिक सञ्जाल तथा डिजिटल माध्यमको प्रयोगसम्बन्धी व्यवस्थामा कर्मचारीले नेपालको संविधान तथा प्रचलित कानुनले अनुमति दिएको अवस्थाबाहेक आफ्नो पदीय हैसियतका आधारमा प्राप्त कार्यालयसम्बन्धी सूचना वा जानकारी सञ्चार माध्यम वा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्न नपाउने उल्लेख गरिएको छ। सरकारी निकायबाट भएका निर्णयको गलत अर्थ लाग्ने गरी सूचना वा सामग्री प्रचारप्रसार गर्न पनि निषेध गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार नयाँ आचारसंहिताको उद्देश्य स्वास्थ्य संस्थामा अनुशासित, पारदर्शी, उत्तरदायी र सेवामुखी कार्यसंस्कृतिको विकास गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनु हो।