काठमाडौं- स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले देशभरका सबै निजी अस्पताल तथा क्लिनिकलाई स्तनपान कक्ष अनिवार्य रूपमा स्थापना गरी सञ्चालनमा ल्याउन निर्देशन दिएको छ।
महाशाखाले बुधबार जारी गरेको पत्रमा स्तनपान गराइरहेका आमाहरूले सार्वजनिक स्थल, स्वास्थ्य संस्था, कार्यस्थल तथा आपत्कालीन अवस्थामा समेत सहज रूपमा स्तनपान गराउन आवश्यक वातावरणको अभाव रहेको उल्लेख गर्दै सबै निजी अस्पताल तथा क्लिनिकमा ‘स्तनपान कक्ष स्थापना तथा सञ्चालन कार्यविधि, २०८०’ बमोजिम स्तनपान कक्ष स्थापना गर्न आग्रह गरेको हो ।
निर्देशनमा स्तनपानको प्रवर्द्धन, संरक्षण तथा सहयोगमार्फत बालबालिकाको सर्वाङ्गीण विकासमा टेवा पुर्याउने उद्देश्यले अस्पताल तथा क्लिनिकहरूले यथाशीघ्र स्तनपान कक्ष स्थापना गरी व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्ने उल्लेख छ।
डा मदन कुमार उपाध्यायद्वारा हस्ताक्षरित पत्रमा यो व्यवस्था तत्काल कार्यान्वयन गर्न सबै निजी स्वास्थ्य संस्थालाई अनुरोध गरिएको छ।
महाशाखाले स्तनपानमैत्री स्वास्थ्य संस्था निर्माण तथा आमा र शिशुको स्वास्थ्य अधिकार सुनिश्चित गर्न यस्तो व्यवस्था प्रभावकारी रूपमा लागू गर्नुपर्नेमा जोड दिएको छ।