काठमाडौं- आवासीय चिकित्सकलाई ३६ घण्टासम्म लगातार ड्युटी गराउने मेडिकल कलेजमाथि कारबाही प्रक्रिया अघि बढाउने विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा छलफल भएको छ।
आवासीय चिकित्सक आन्दोलनका प्रतिनिधि डा प्रज्ञान बस्नेतका अनुसार श्रम तथा रोजगारमन्त्री रामजी यादवसहितका प्रतिनिधिहरुसँगको छलफलमा श्रम विभागका महानिर्देशक तथा मन्त्रालयका सचिवसमेत सहभागी थिए।
छलफलमा आवासीय चिकित्सकलाई ३६ घण्टासम्म लगातार काममा लगाउने मेडिकल कलेजविरुद्ध कानुनी कारबाही गर्ने विषयमा अनौपचारिक सहमति भएको बताइएको छ। मन्त्रालयले गरेको निरीक्षणका क्रममा मेडिकल कलेजहरुमा पनि आवासीय चिकित्सकलाई ३६ घण्टा ड्युटी गराइएको भेटिएको र ती कलेजलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको प्रज्ञान बस्नेतले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
उनका अनुसार मन्त्रालयले नेपालमा रेसिडेन्सी कार्यक्रममा श्रम ऐन कार्यान्वयनका विषयमा अध्ययन गरेको छ भने सम्बन्धित विश्वविद्यालयहरूसँग पनि आवश्यक समन्वय गरिरहेको जनाएको छ।
मन्त्रीको आग्रह तथा मन्त्रालयले देखाएको सकारात्मक पहललाई ध्यानमा राख्दै रेसिडेन्ट चिकित्सकहरूले माइतीघरमा जारी आन्दोलन दुई साताका लागि स्थगित गर्ने निर्णय गरेका छन्। यद्यपि, श्रम ऐन कार्यान्वयनलगायत आफ्ना मागमा भने आफूहरू अडिग रहेको बस्नेतले जानकारी दिएका छन्।