काठमाडौं- चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्ष पदमा नियुक्त भएका वरिष्ठ चिकित्सक डा. योगेन्द्रप्रसाद सिंहले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उनलाई सपथ ग्रहण गराएकी हुन्।
मन्त्रालयले केही दिनअघि डा. सिंहलाई अस्पतालको अध्यक्ष नियुक्त गरेको हो। शपथ ग्रहणसँगै उनले अस्पतालको नेतृत्व औपचारिक रूपमा सम्हाल्नका लागि पत्र बुझेका छन्।
नवनियुक्त अध्यक्ष डा. सिंह त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ४६ वर्ष लामो सेवा पूरा गरी अवकाश प्राप्त वरिष्ठ चिकित्सक हुन्। शिक्षण अस्पताल परिसरमा सुरेश वाग्ले स्मृति क्यान्सर सेन्टर स्थापना तथा सञ्चालनमा उनको महत्वपूर्ण योगदान रहेको छ। चिकित्सा शिक्षा सुधार अभियानका अभियन्ता प्रा. डा. गोविन्द केसीका समर्थकका रूपमा परिचित सिंह हालसम्म स्वच्छ र विवादरहित छविका चिकित्सकका रूपमा चिनिन्छन्।
अध्यक्ष छनोटका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत वैशाख १५ गते खुला आवेदन आह्वान गरेको थियो। उक्त पदका लागि आठ जनाको आवेदन परेकोमा एक जनाको आवेदन प्रक्रिया नपुगेपछि सात जना उम्मेदवारलाई प्रारम्भिक सूचीमा समावेश गरिएको थियो।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ अनुसार अध्यक्ष बन्न चिकित्साशास्त्रमा स्नातकोत्तर (एमडी) उत्तीर्ण गरी क्यान्सर क्षेत्रमा कम्तीमा १५ वर्ष वा समग्र स्वास्थ्य क्षेत्रमा २० वर्षको अनुभव भएको हुनुपर्ने कानुनी व्यवस्था रहेको छ। डा. सिंहले उक्त योग्यता र अनुभव पूरा गरेका छन्।
नवनि