काठमाडौं- स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो र प्रभावकारी बनाउन स्वास्थ्य बीमा बोर्डले बीमित सेवाग्राही र चिकित्सकहरूलाई विशेष अपिल गरेको छ। बीमा सेवाको जिम्मेवार र सदुपयोग गर्न आग्रह गर्दै बोर्डले बीमितहरूलाई अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न र चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई आवश्यकता भन्दा बढी परीक्षण वा उपचारका लागि दबाब नदिन अनुरोध गरेको छ।
'सम्पूर्ण बीमित सेवाग्राहीहरूलाई स्वास्थ्य बीमा सेवाको जिम्मेवार र सदुपयोग गर्न, अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई आवश्यकता भन्दा बढी परीक्षण वा उपचारका लागि दबाब नदिन तथा स्वास्थ्य बीमा कार्यक्रमको दिगोपना र प्रभावकारिता कायम राख्न आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्न अनुरोध गर्दछौँ,' बोर्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
सीमित स्रोतसाधन तथा संरचनागत चुनौतीका बाबजुद पनि दैनिक हजारौँ बीमित नागरिकले यस कार्यक्रमबाट स्वास्थ्य सेवा पाइरहेको र उपचारका क्रममा नागरिकले आफ्नै गोजीबाट व्यहोर्नुपर्ने खर्च न्यूनीकरण गरी वित्तीय जोखिमबाट संरक्षण गर्न स्वास्थ्य बीमाले महत्वपूर्ण योगदान पुर्याइरहेको बोर्डको दाबी छ।
स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्षको विभिन्न मितिमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई कुल २३ अर्ब ४४ करोड २ लाख ९८ हजार १६ रुपैयाँ (रु. २३,४४,०२,९८,०१६) दाबी भुक्तानी गरेको छ। बोर्डले आज शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त भुक्तानीसँगै मिति २०८२ साल मंसिर मसान्तसम्मको सम्पूर्ण आबद्ध सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको दाबी बक्यौता पूर्ण रूपमा फरफारक भएको जनाएको छ।
विगत केही समयदेखि स्वास्थ्य बीमा कार्यक्रमको दिगो वित्तीय स्रोत तथा संयन्त्र पूर्ण रूपमा स्थापित हुन नसक्दा अस्पताल तथा स्वास्थ्य संस्थाहरूको दाबी भुक्तानी समयमै हुन सकेको थिएन। यसबाट सेवा प्रदायक संस्था र बीमित सेवाग्राहीहरूमा असहज परिस्थिति उत्पन्न भएको विषयप्रति बोर्ड पूर्ण सजग रहेको विज्ञप्तिमा उल्लेख छ।
बोर्डका अनुसार २०८२ मंसिर पछिको बाँकी दाबी भुक्तानीका लागि आवश्यक बजेट व्यवस्थापन तथा दिगो वित्तीय स्रोत सुनिश्चित गर्न सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय र पहल भइरहेको छ।
भुक्तानी प्रक्रिया अघि बढेकाले बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई बीमित सेवाग्राहीहरूको उपचार सेवामा कुनै पनि प्रकारको अवरोध वा कठिनाइ सिर्जना नगरी कार्यक्रम अन्तर्गत निर्धारित मापदण्ड बमोजिम निरन्तर गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराइदिन हार्दिक अनुरोध गरेको छ।