काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मन्त्रालय तथा मातहतका निकायमा कार्यरत कर्मचारीहरूको आचरण, कार्यशैली र सेवा प्रवाहलाई थप व्यवस्थित, पारदर्शी, अनुशासित तथा सेवामुखी बनाउन नयाँ आचारसंहिता ल्याएको छ।
स्वास्थ्य मन्त्री निशा मेहताले असार १० गते ‘स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र अन्तर्गतका निकायमा कार्यरत कर्मचारीको आचारसंहिता–२०८३’ स्वीकृत गरेकी हुन्। मन्त्री मेहताद्वारा स्वीकृत उक्त आचारसंहिताले मन्त्रालय र मातहतका सबै निकायमा कार्यरत कर्मचारीहरूको व्यावसायिक आचरण, सेवा प्रवाह तथा जिम्मेवारी निर्वाहका मापदण्ड निर्धारण गरेको मन्त्रालयले जनाएको छ।
आचारसंहिताको प्रस्तावनामा मन्त्रालय तथा अन्तर्गतका निकायको कार्यसम्पादन र सेवा प्रवाहलाई प्रभावकारी, निष्पक्ष, पारदर्शी, मर्यादित र व्यवस्थित बनाउन यो आचारसंहिता जारी गरिएको उल्लेख छ। यो सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, २०८४ को दफा २३ को उपदफा (३) तथा निजामती सेवाका कर्मचारीको आचरण सम्बन्धी नियमावली, २०६५ को नियम २७ ले दिएको अधिकार प्रयोग गरी जारी गरिएको हो।
आचारसंहिता मन्त्रालयबाट स्वीकृत भएको मितिदेखि नै लागू हुने व्यवस्था गरिएको छ। साथै, मन्त्रालय अन्तर्गतका निकायका पदाधिकारीका लागि समेत यो मार्गदर्शक दस्तावेजका रूपमा रहने उल्लेख गरिएको छ।
आचारसंहितामा कर्मचारीले पालना गर्नुपर्ने मूल्य र मान्यता, उद्देश्यपरकता, इमान्दारिता, कर्तव्यपरायणता, सदाचारिता, व्यावसायिक कार्यशैली तथा व्यवहार, निष्पक्षता र राजनीतिक तटस्थता सम्बन्धी स्पष्ट व्यवस्था गरिएको छ।
त्यसैगरी अस्पतालमा कार्यरत कर्मचारीका लागि छुट्टै आचारसंहिता समावेश गरिएको छ। डिजिटल प्रणाली, कृत्रिम बौद्धिकता (एआई) तथा सामाजिक सञ्जालको मर्यादित प्रयोग, सेवाग्राहीप्रति उत्तरदायित्व, सेवा प्रवाहको गुणस्तर तथा गुनासो व्यवस्थापनलाई समेत आचारसंहितामा विशेष प्राथमिकता दिइएको छ।
आचारसंहितामा आचरण विपरीत नमानिने कार्य, आचार समितिबाट गरिने अनुगमन, कार्यसम्पादन मूल्याङ्कनका आधार, बाधा–अड्काउ फुकाउने तथा संशोधन सम्बन्धी व्यवस्था र प्रचलित कानुन बमोजिम हुने कानुनी प्रबन्ध समेत समेटिएको छ।
मन्त्रालयका अनुसार नयाँ आचारसंहिताले कर्मचारीहरूमा अनुशासन, नैतिकता, व्यावसायिकता, पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्दै स्वास्थ्य सेवाको गुणस्तर सुधार र सुशासन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
उक्त आचारसंहितामा मन्त्रालयका सहसचिवको हस्ताक्षरसहित प्रमाणीकरण गरिएको छ।
हेरौं आचारसंहिता