बागलुङ- बागलुङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लाभरिका १४ हजार २ सय ५७ जना बालबालिकालाई उमेरअनुसार आवश्यक पर्ने सबै खोप लगाइएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो।
शनिबार आयोजित विशेष कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डेले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको घोषणा गरेका हुन्। कार्यक्रममा उनले पूर्ण खोप अभियान सफल बनाउन योगदान पुर्याउने जिल्लाका सबै स्थानीय तहका प्रमुख, स्वास्थ्य शाखा प्रमुख तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान समेत गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले खोप बालबालिकालाई विभिन्न संक्रामक तथा ज्यान जोखिममा पार्ने रोगबाट बचाउने सबैभन्दा प्रभावी र किफायती स्वास्थ्य सेवा भएको बताए। उनले कुनै पनि बालबालिका खोपबाट वञ्चित नहोस् भन्ने उद्देश्यका साथ सरकारले नियमित खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लगेको उल्लेख गरे। पूर्ण खोपको अवस्था कायम राख्न स्थानीय तह, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा अभिभावकको निरन्तर सक्रियता आवश्यक रहेको मन्त्री पाण्डेको भनाइ थियो।
स्वास्थ्य कार्यालय बागलुङका प्रमुख जनस्वास्थ्य प्रशासक प्रवीण शर्माका अनुसार जन्मेदेखि १५ महिनाभित्रका ३ हजार २ सय ७८ जना तथा १६ महिनादेखि ५ वर्ष उमेर समूहका १० हजार ९ सय ७९ जना गरी कुल १४ हजार २ सय ५७ जना बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार आवश्यक सबै खोप प्राप्त गरेका छन्।
खोप कार्यक्रम अन्तर्गत बालबालिकालाई क्षयरोग, पोलियो, भ्यागुते रोग, धनुष्टंकार, लहरेखोकी, हेपाटाइटिस–बी, निमोनिया, रोटाभाइरसबाट हुने झाडापखाला, दादुरा–रुवेला, जापानी इन्सेफ्लाइटिस लगायत विभिन्न रोगविरुद्ध निःशुल्क खोप उपलब्ध गराइँदै आएको छ। यी खोपहरूले बाल मृत्युदर घटाउन, अपाङ्गता हुनबाट जोगाउन तथा समुदायमा संक्रामक रोगको प्रकोप नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन्।
गत फागुनमा ढोरपाटन नगरपालिकामा दादुरा संक्रमण फैलिएपछि गण्डकी प्रदेश सरकार, संघीय सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन, स्वास्थ्य कार्यालय बागलुङ र ढोरपाटन नगरपालिकाको समन्वयमा विशेष दादुरा–रुवेला खोप अभियान सञ्चालन गरिएको थियो। उक्त अभियानमार्फत २० वर्षसम्मका करिब ७ हजार बालबालिका तथा किशोरकिशोरीलाई खोप लगाइएको जनस्वास्थ्य प्रशासक शर्माले जानकारी दिए। अभियानपछि संक्रमण नियन्त्रणमा आएको स्वास्थ्य कार्यालयले जनाएको छ।
यस वर्ष नियमित खोप कार्यक्रममा पनि ढोरपाटन नगरपालिकामा उल्लेख्य सहभागिता देखिएको छ। त्यहाँ १५ महिनाभित्रका ६ सय २२ जना तथा १६ महिनादेखि ५९ महिनाभित्रका २ हजार १६ जना गरी कुल २ हजार ६ सय ३८ जना बालबालिकाले खोप लगाएका छन्, जुन जिल्लाभित्र सबैभन्दा बढी हो।
पूर्ण खोप सुनिश्चितता घोषणा एउटा उपलब्धि मात्र नभई यसको दिगोपना कायम राख्नु अझ महत्वपूर्ण पक्ष रहेको गण्डकी प्रदेशका स्वास्थ्य सचिव डा. युवानिधी बसौलाले बताए। खोपको दिगोपनाका निम्ति प्रत्येक नवजात तथा तोकिएको उमेर समूहका बालबालिकाले समयमै सबै मात्रा पूरा गरी खोप लगाउनुपर्ने, छुटेका बालबालिकाको नियमित खोजी गरी खोप सेवामा ल्याउनुपर्ने र अभिभावकमा खोपसम्बन्धी जनचेतना अभिवृद्धि गर्नुपर्नेमा बसौलाले जोड दिए।
कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ, जैमिनी नगरपालिकाका नगरप्रमुख नरबहादुर पून, बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारी, बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य लगायतले पूर्ण खोप कार्यक्रमलाई दिगोपना दिनु आवश्यक रहेको बताएका थिए।