काठमाडौं- नेपालको उच्च शिक्षाको इतिहासमा पहिलो पटक जनस्वास्थ्य क्षेत्रका विज्ञ बहुविषयक विश्वविद्यालयको सर्वोच्च प्राज्ञिक नेतृत्वमा पुगेका छन्। खुला तथा प्रतिस्पर्धात्मक प्रक्रियामार्फत प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति बालेन शाहले प्रा. डा. सुजन बाबु मरहठ्ठालाई पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पदमा नियुक्त गरेका हुन्।
विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३ अन्तर्गत सञ्चालित खुला छनोट प्रक्रियापछि मरहठ्ठा यस पदमा नियुक्त भएका हुन्। जनस्वास्थ्य क्षेत्रका विज्ञ नेपालको बहुविषयक विश्वविद्यालयको उपकुलपति बनेको यो पहिलो ऐतिहासिक अवसर भएको पोखरा विश्वविद्यालयका उपप्राध्यापक राजेश कुमार यादवले जानकारी दिए। यस नियुक्तिलाई नेपालको उच्च शिक्षा र जनस्वास्थ्य क्षेत्रका लागि एउटा अभूतपूर्व उपलब्धिका रूपमा हेरिएको छ।
नवनियुक्त उपकुलपति प्रा. डा. मरहठ्ठा जनस्वास्थ्य, महामारी विज्ञान, स्वास्थ्य प्रणाली सुदृढीकरण, वातावरण तथा पेसागत स्वास्थ्य, अनुसन्धान र उच्च शिक्षाका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनिएको नाम हो। उनी हाल नेपाल खुला विश्वविद्यालयमा जनस्वास्थ्य विषयका प्राध्यापक हुनुका साथै विभिन्न स्नातकोत्तर कार्यक्रमको शैक्षिक नेतृत्वमा संलग्न रहँदै आएका थिए। विश्व स्वास्थ्य संगठन लगायतका प्रतिष्ठित अन्तर्राष्ट्रिय संस्थाहरूबाट अनुसन्धान अनुदान प्राप्त गरिसकेका डा. मरहठ्ठाका १०० भन्दा बढी अन्तर्राष्ट्रिय 'पियर-रिव्युड' अनुसन्धान लेख तथा पुस्तकका अध्यायहरू प्रकाशित छन्।
शिक्षाविद्हरूले जनस्वास्थ्य पृष्ठभूमिका यी अनुभवी अनुसन्धानकर्ताको नेतृत्व पाएसँगै पूर्वाञ्चल विश्वविद्यालयमा अनुसन्धानमुखी शिक्षा, गुणस्तर अभिवृद्धि, अन्तर्राष्ट्रिय सहकार्य, डिजिटल रूपान्तरण, नवप्रवर्तन तथा प्राज्ञिक सुशासन थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।
पूर्वाञ्चल विश्वविद्यालय नेपालको एक प्रमुख बहुविषयक विश्वविद्यालय हो, जहाँ स्वास्थ्य विज्ञान, व्यवस्थापन, इन्जिनियरिङ, कृषि, विज्ञान, कानुन तथा मानविकी लगायतका विभिन्न विधामा उच्च शिक्षा प्रदान गरिँदै आएको छ।