काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक तथा सांसद खुश्बु ओलीले इन्टर्न चिकित्सकहरूले भोग्दै आएका समस्या, न्यून पारिश्रमिक र श्रम शोषणका विषयमा सरकारको ध्यानाकर्षण गराएकी छन्।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारी मेडिकल कलेजको तुलनामा निजी मेडिकल कलेजमा कार्यरत इन्टर्न चिकित्सकहरूले अत्यन्त न्यून पारिश्रमिक र भत्तामा काम गर्नुपर्ने बाध्यता रहेको बताइन्।
नीतिगत कमजोरी र विद्यमान व्यवस्थाका कारण इन्टर्न चिकित्सकहरूको श्रम निरन्तर शोषण भइरहेको उनको जिकिर थियो। यस्तो अवस्था कायमै रहे दक्ष जनशक्ति विदेश पलायन हुने जोखिम अझ बढ्ने उनले चेतावनी दिइन्।
ओलीले इन्टर्न चिकित्सकहरूलाई आठौँ तहको प्रारम्भिक तलब स्केलको ५० प्रतिशत बराबर निर्वाह भत्ता उपलब्ध गराउन कार्यदलले सिफारिससहित प्रतिवेदन तयार गरे पनि हालसम्म त्यसको कार्यान्वयन हुन नसकेको विषय पनि संसद्मा उठाइन्।