काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले देशका विभिन्न स्थानमा गरेको बजार अनुगमनका क्रममा खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी गम्भीर लापरवाही फेला पारेको छ। विभागले अखाद्य वस्तु नष्ट गर्नुका साथै केही व्यवसायलाई निर्देशन, सिलबन्दी तथा नमुना परीक्षणका लागि कारबाही अघि बढाएको छ।
विभागका अनुसार असार १८ देखि २१ गतेसम्म प्राप्त उजुरी तथा नियमित अनुगमनका क्रममा काठमाडौं, भक्तपुर र कञ्चनपुरमा खाद्य व्यवसायहरूको निरीक्षण गरिएको हो।
कञ्चनपुरको भीमदत्त नगरपालिकामा प्रमुख जिल्ला अधिकारी मदन कोइराला र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी वरिष्ठ उपरीक्षक नेरमणि गिरीसहितको संयुक्त टोलीले १३ वटा होटल, मिठाई पसल, फास्टफुड तथा डेरी उद्योगमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा कृत्रिम रङ प्रयोग गरी बनाइएको करिब १५ केजी चिकेन रोस्ट, १७ केजी अचार, म्याद नाघेका खाद्य सामग्री, कृत्रिम रङ, प्रयोग गरिसकिएको तेल तथा करिब ७० केजी मिठाई नष्ट गरिएको विभागले जनाएको छ।
अनुगमनमा उत्पादन स्थल फोहोर राख्ने, खुला रूपमा मिठाई भण्डारण गर्ने, पुराना प्लास्टिकका चपिङ बोर्ड प्रयोग गर्ने, सरसफाइमा लापरवाही गर्ने लगायतका कमजोरी भेटिएपछि सम्बन्धित व्यवसायलाई सुधारका लागि निर्देशन दिइएको छ। भीमदत्त–५ स्थित न्यू शिवानी स्वीट हाउसलाई सरसफाइ सुधार नभएसम्मका लागि सिलबन्दी गरिएको छ।
यस्तै काठमाडौंको मध्यपुर थिमीस्थित जिरे खुर्सानी दरबार रेष्टुरेन्टमा गरिएको निरीक्षणमा म्याद गुज्रिएका मसला, लेबलविहीन खाद्य सामग्री तथा सामान्य तापक्रममा ढुवानी गरिएको करिब १४.२ केजी कुखुराको मासु फेला परेको थियो। उक्त मासुको नमुना प्रयोगशाला परीक्षणका लागि संकलन गरी परीक्षण प्रतिवेदन नआएसम्म प्रयोग नगर्न निर्देशन दिइएको विभागले जनाएको छ।
उजुरीका आधारमा काठमाडौंको भाटभटेनी त्रिपुरेश्वर र महाराजगञ्जमा बिक्री भइरहेका फलफूल तथा तरकारीमा विषादी परीक्षण गर्दा मापदण्डअनुसार सुरक्षित पाइएको विभागले जनाएको छ। त्यसैगरी सतुङ्गलस्थित बिगमार्टमा बिक्री भइरहेको ‘गुड लक’ ब्रान्डको चामलको नमुना प्रयोगशाला परीक्षणका लागि संकलन गरिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित विषय भएकाले खाद्य व्यवसायीलाई खाद्य स्वच्छता मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गर्दै यस्ता अनुगमनलाई निरन्तरता दिने जनाएको छ।