सुनसरी- धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीहरूलाई विभिन्न प्रलोभनमा पारी अवैध कमिसनको चलखेल गर्ने १० जना बिचौलियाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रतिष्ठानमा आउने बिरामीलाई विभिन्न निजी अस्पतालहरूबाट सस्तो मूल्यमा औषधि मिलाइदिने बहानामा अवैध गतिविधिको चलखेल भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट घोपाबाट खटिएको संयुक्त प्रहरी टोलीले असार २३ गते प्रतिष्ठानको इमर्जेन्सी भवन अगाडिबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान कार्य अघि बढाइएको सुनसरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर खड्काले जानकारी दिए।
प्रहरीले सप्तरीको अग्नीसाइर कृष्णसवरन गाउँपालिका–३ बस्ने ३७ वर्षीय रन्जित कुमार चौधरी, सप्तरीकै राजविराज नगरपालिका–६ बस्ने २७ वर्षीया रबिना मण्डल, भोजपुरको आमचोक गाउँपालिका–८ बस्ने ३५ वर्षीय हस्त श्रेष्ठ र मोरङको लेटाङ नगरपालिका–३ बस्ने २९ वर्षीय सान्बिन किरातीलाई पक्राउ गरेको छ।
यसैगरी सुनसरीको धरान उप-महानगरपालिकाका विभिन्न वडाबाट ५ जना पक्राउ परेका छन्, जसमा वडा नं. १८ बस्ने २० वर्षीय सागर पोखरेल, वडा नं. ६ बस्ने २३ वर्षीय मनिष बुढाथोकी, वडा नं. १७ बस्ने ३५ वर्षीय धिरोज निरौला र वडा नं. ११ बस्ने १८ वर्षीय बिनोद भट्टराई रहेका छन्। त्यस्तै, सुनसरीकै इनरुवा नगरपालिका–२ बस्ने ३१ वर्षीय रोहित मेहता र उदयपुरको चौदण्डीगढी नगरपालिका–५ बस्ने ४० वर्षीय उमेश कुमार चौधरीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
