काठमाडौं- वीरगञ्जस्थित नारायणी अस्पतालमा लामो समयदेखि थन्किएर रहेको 'क्याथ ल्याब' मेसिन जडानको कार्य अन्ततः अन्तिम चरणमा पुगेको छ। वि.सं. २०७६ चैतमा खरिद गरिए पनि विभिन्न प्राविधिक तथा व्यवस्थापकीय कारणले हालसम्म उक्त मेसिन जडान हुन सकेको थिएन।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार क्याथ ल्याब जडानको प्रक्रिया अहिले अन्तिम चरणमा पुगेको र उपकरण जडान सम्पन्न भएसँगै नारायणी अस्पतालबाट मुटुरोगसम्बन्धी विशिष्टीकृत सेवा सञ्चालन गर्ने तयारी थालिएको छ।
यो सेवा पूर्ण रूपमा सञ्चालनमा आएपछि मधेस प्रदेशका साथै आसपासका जिल्लाका सेवाग्राहीहरू मुटुरोगको गम्भीर उपचारका लागि काठमाडौँ वा छिमेकी मुलुक भारत धाउनुपर्ने बाध्यता हट्नेछ। आफ्नै क्षेत्रमा सहज र सुलभ रूपमा क्याथ ल्याब सेवा प्राप्त हुने भएपछि यस क्षेत्रका नागरिकले ठुलो राहत पाउने अपेक्षा मन्त्रालयले गरेको छ।