काठमाडौं- नेशनल ओपन कलेजद्वारा आयोजित '१३औँ राष्ट्रिय स्वास्थ्य सेवा व्यवस्थापन सम्मेलन' चार प्रमुख प्रस्तावहरू पारित गर्दै सम्पन्न भएको छ। असार २० गते सम्पन्न उक्त सम्मेलनमा नेपाल र भारतका गरी १६ जना स्वास्थ्य क्षेत्रका विज्ञहरूले स्वास्थ्य सेवा व्यवस्थापनका विविध समसामयिक विषयमा आफ्ना अनुसन्धानमूलक कार्यपत्रहरू प्रस्तुत गरेका थिए।
सम्मेलनको उद्घाटन सत्रमा 'आईआईएचएमआर' दिल्ली, भारतकी निर्देशक प्रा.डा. सुतपा बनर्जी उपाध्याय प्रमुख अतिथि रहेका थियो भने पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. प्रेम नारायण अर्याल तथा मधेश र काठमाडौँ विश्वविद्यालयका डिनहरू विशेष अतिथिका रूपमा सहभागी थिए। त्यसैगरी, समापन समारोहमा काठमाडौँ विश्वविद्यालय, चिकित्साशास्त्र संकायका डिन प्रा.डा. मनोज हुमागाईं प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
सम्मेलनमा विज्ञहरू प्रा.डा. तेज कार्की (स्वस्थ शहर), महेन्द्र भुसाल (अस्पताल आयोजना), ई. महेश नकर्मी (फोहोर व्यवस्थापन), ई. कपिल गौतम (क्यान्सरजन्य फोहोर व्यवस्थापन), डा. राम थापा (स्वास्थ्य बीमा), डा. तला गुप्ता र सुधीर ठाकुर (स्वास्थ्य जनशक्ति व्यवस्थापन) तथा डा. सुनील श्रेष्ठले औषधि व्यवस्थापनसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। यसका साथै मिलन गुरुङ, डा. यज्ञ तिमिल्सिना, प्रा.डा. पुनित, प्रा.डा. निधि, प्रा.डा. यज्ञबहादुर कार्की र डा. मदन पिया लगायतका अनुसन्धानकर्ताहरूले पनि आफ्ना प्रस्तुति राखेका थिए।
सम्मेलनद्वारा चार प्रमुख प्रस्ताव पारित
देशभरका अस्पताल प्रमुख, स्वास्थ्य व्यवस्थापक, शिक्षाविद् तथा स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको उक्त सम्मेलनले स्वास्थ्य सेवा व्यवस्थापन क्षेत्रको संस्थागत विकासका लागि ४ बुँदे प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ:
१. विश्वविद्यालयमा विशेष कार्यक्रम: सरकारी विश्वविद्यालयहरूमा बिचिएचएम, एमचिएचएम, पिजिडिचिएचएम तथा पीएचडी तहका स्वास्थ्य सेवा व्यवस्थापन कार्यक्रमहरू सञ्चालन गरिनुपर्ने।
२. अनिवार्य नियुक्ति: सरकारी तथा निजी सबै स्वास्थ्य संस्थाहरूमा स्वास्थ्य व्यवस्थापन विषयमा स्नातक वा सोभन्दा माथिल्लो तह उत्तीर्ण गरेका 'स्वास्थ्य व्यवस्थापक' को अनिवार्य नियुक्ति गरिनुपर्ने।
३. अन्तर्राष्ट्रिय सहकार्य: नेपाल-भारत तथा अन्तर्राष्ट्रिय स्तरमा स्वास्थ्य सेवा व्यवस्थापन क्षेत्रमा निजी, सहकारी र सरकारी निकायबीच सहकार्य विस्तार गर्दै 'टुगेदर फर हेल्थ' अभियान सञ्चालन गरिनुपर्ने।
४. छुट्टै परिषद्को माग: स्वास्थ्य सेवा व्यवस्थापनसम्बन्धी छुट्टै परिषद् (काउन्सिल) गठन गरी यस क्षेत्रको अध्ययन, सेवा, नियुक्ति तथा पदोन्नतिलाई वैज्ञानिक र व्यवस्थित बनाइनुपर्ने।
हेल्थकेयर अपरेसन म्यानेजमेन्ट कार्यशाला सम्पन्न
सम्मेलनकै अवसर पारेर असार २१ र २२ गते नेशनल ओपन कलेजमा 'हेल्थकेयर अपरेसन म्यानेजमेन्ट वर्कशप' समेत सञ्चालन गरिएको थियो। कुल ४० जनाको सहभागिता रहेको उक्त कार्यशालामा आईआईएचएमआरका डिन प्रा.डा. पुनित, डा. निधि, सहप्राध्यापक ई. कपिल गौतम, सहप्राध्यापक मिलन गुरुङ र सहप्राध्यापक इन्द्रकुमार श्रेष्ठले प्रशिक्षण प्रदान गरेका थिए।