काठमाडौं- लामो समयदेखि नेतृत्वविहीन रहेको अंग प्रत्यारोपण समन्वय समितिले नयाँ अध्यक्ष पाउने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले 'मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५' को दफा १२ बमोजिम गठन हुने समितिको अध्यक्ष पदका लागि खुला आवेदन आह्वान गरेको हो।
गत १९ वैशाखमा जारी अध्यादेशका कारण पुराना नियुक्तिहरू बदर भई यो समिति पदाधिकारीविहीन बनेको थियो। समितिको अनुपस्थितिका कारण नयाँ स्वास्थ्य संस्थाहरूले प्रत्यारोपणको लाइसेन्स पाउन सकेका छैनन् भने प्रत्यारोपण सम्बन्धी अन्य महत्त्वपूर्ण कामहरू समेत ठप्प छन्।
योग्य र इच्छुक उम्मेदवारहरूले २०८३ साउन ४ गते कार्यालय समयभित्र मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखामा आवेदन दिनुपर्ने मन्त्रालयले जनाएको छ।
अध्यक्ष पदका लागि चाहिने योग्यताहरू
अध्यक्ष पदमा आवेदन दिन उम्मेदवारहरूले निम्न मापदण्ड पूरा गरेको हुनुपर्नेछ:
नागरिकता: नेपाली नागरिक हुनुपर्ने।
शैक्षिक योग्यता: चिकित्साशास्त्रमा कम्तीमा स्नातकोत्तर (एमडी/एमएस वा सोसरह) उपाधि प्राप्त।
काउन्सिल दर्ता: नेपाल मेडिकल काउन्सिलमा विशेषज्ञ चिकित्सकका रूपमा स्थायी दर्ता भएको।
अनुभव: विशेषज्ञ चिकित्सकका रूपमा कम्तीमा १० वर्ष काम गरेको कार्यअनुभव।
अतिरिक्त अनुभव: स्वास्थ्य सम्बन्धी कानुन, नीति तथा सार्वजनिक निकायको नेतृत्वदायी भूमिका सम्हालेको हुनुपर्ने।
छनोट तथा मूल्याङ्कन प्रक्रिया
प्राप्त आवेदनहरूको प्रारम्भिक जाँचबुझ गरी योग्य उम्मेदवारहरूको सर्टलिस्ट तयार गरिनेछ। सर्टलिस्टमा परेका आवेदकहरूलाई एकै दिन प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाइने मन्त्रालयले स्पष्ट पारेको छ।
अंकभार
शैक्षिक योग्यता र अनुभव : ३० अंक
प्रस्तुतीकरण : ३५ अंक
अन्तर्वार्ता : ३५ अंक