काठमाडौं- चिकित्सा शिक्षा आयोग अन्तर्गतका विभिन्न चार निर्देशनालय तथा बोर्डमा निर्देशक पदका लागि खुला प्रतिस्पर्धाबाट नियुक्ति प्रक्रिया अघि बढाइएको छ।
चिकित्सा शिक्षा आयोगको निर्देशक पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले आज (शुक्रबार) एक सूचना जारी गर्दै योग्य उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको हो।
'राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५' र 'उम्मेदवार छनोट सम्बन्धी कार्यविधि, २०८३' को व्यवस्था बमोजिम आयोगले यी पदहरूमा पदपूर्तिको प्रक्रिया सुरु गरेको हो।
कुन-कुन निर्देशनालयमा हुँदैछ नियुक्ति?
आयोगका अनुसार देहायका ४ महत्त्वपूर्ण निर्देशनालय तथा बोर्डका लागि निर्देशक माग गरिएको छ:
१. मापदण्ड तथा प्रत्यायन निर्देशनालय
२. योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय
३. परीक्षा निर्देशनालय
४. नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज
आवेदनका लागि के-के योग्यता चाहिन्छ?
निर्देशक पदको दौडमा सामेल हुन उम्मेदवारहरूले निम्नलिखित मापदण्ड पूरा गरेको हुनुपर्नेछ:
अनुभव र पद: कम्तीमा १५ वर्षको कार्यअनुभव प्राप्त प्राध्यापक वा नेपाल सरकारको विशिष्ट श्रेणी (सचिव सरह) को पदमा काम गरेको अनुभव हुनुपर्ने।
विशेषज्ञता: चिकित्सा शिक्षा आयोगको निर्देशनालय वा बोर्डको कामसँग सम्बन्धित क्षेत्रमा दक्षता भएको हुनुपर्ने।
व्यक्तिगत छवि: सम्बद्ध क्षेत्रमा उत्कृष्ट व्यवस्थापकीय सीप, स्वच्छ छवि र व्यावसायिकता भएको हुनुपर्ने।
नागरिकता: नेपाली नागरिक हुनुपर्ने।
मुख्य कागजात र २००० शब्दको 'सोचपत्र' अनिवार्य
आवेदकहरूले आफ्नो व्यक्तिगत विवरण, शैक्षिक योग्यताका प्रमाणपत्र, नागरिकता र अनुभवका प्रमाणित कागजातहरू बुझाउनुपर्नेछ। यसका साथै, उम्मेदवारले आयोग र आफूले इच्छाएको निर्देशनालयको विकासका लागि तयार पारेको बढीमा २,००० शब्दको सोचपत्र शिलबन्दी खामभित्र राखेर बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
कार्यविधि हेर्न यहाँ क्लिक गरौं [कार्यविधि]