काठमाडौं - जलनबाट गम्भीर घाइते भएका गणेश नेपालीको निधन भएको छ। वीर अस्पतालका डेपुटी डाइरेक्टर तथा प्रवक्ता डा प्रकाश बुढाथोकी अनुसार नेपालीको उपचारका क्रममा निधन भएको हो।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले पनि नेपालीको निधन भएको जानकारी दिएका छन्।
नेपालीको बिहान उपचारका क्रममा मृत्यु भएको हो। तर अस्पतालले भने मध्यान्न सम्म पनि नेपालीको मृत्युका विषयमा औपचरिक जानकारी दिएको छैन।
वीर अस्पतालमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालय र गृह मन्त्रालयका प्रतिनिधिहरुको उपस्थिति रहेको छ।
नेपालीलाई बिहीबार दिउँसो २:१५ बजे वीर अस्पताल लगिएको थियो। तत्कालै उनलाई कुलिङमा राखिएको र त्यसपछि श्वासप्रश्वास सहज गराउन इन्टुबेट गराइएको थियो। नेपालीको पहिलो शल्यक्रिया भए पनि स्वास्थ्य अवस्थामा सुधार नआएको डा बुढाथोकीले जानकारी दिए।
‘घाइते नेपालीको पहिलो शल्यक्रिया सम्पन हुँदा ८ बजेको थियो,’ उनले स्वास्थ्यखबरसँग भने- ‘चिकित्सकको टोलीले रातभरी पनि ध्यान केन्द्रित भएर काम गरिरहेका थिए। तर प्रायस गर्दा पनि उनलाई बचाउन सकिएन।’
नेपालीलाई थप उपचारका लागि भारतको लैजाने तयारी गरिएको भए पनि स्वास्थ्य अवस्था स्थिर नभएकाले तत्काल लैजान नमिल्ने उनले जानकारी दिए। अस्पतालको बर्न आईसीयूमा भेन्टिलेटरको उपचार भइरहेको उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको छ।
नेपालीले त्रिपुरेश्वरमा आफैंलाई आगो लगाएका थिए।
नेपालीको उपचारमा वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा पियुष दाहालको नेतृत्वमा युनिट प्रमुख डा अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा निर्माण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर लगायतको टोली संलग्न थियो।