काठमाडौं- नेपाली औषधि बजारमा आयात प्रतिस्थापन र रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको स्वदेशी औषधि उद्योग 'क्वेष्ट फर्मास्युटिकल्स प्रालिले आफ्नो २५ वर्षे यात्रा पूरा गरेको छ।
दुई दशकभन्दा लामो व्यावसायिक यात्रा पार गरेको क्वेष्ट फर्मास्युटिकल्स प्रालिले आफ्नो २५ औँ वर्षगाँठ मनाउँदै गर्दा अबको ध्यान अनुसन्धान, नवप्रवर्तन र हालसम्म आयातमा मात्रै निर्भर रहेका औषधिहरू स्वदेशमै उत्पादन गर्ने रणनीतिमा केन्द्रित गरेको जनाएको छ।
रजत जयन्तीको अवसरमा शुक्रबार राजधानीमा आयोजित विशेष समारोहमा सरोकारवालाहरूले नेपाली औषधि उद्योगलाई थप प्रतिस्पर्धी र निर्यातमुखी बनाउन अब सरकारले 'नीतिगत फड्को' मार्नुपर्ने आवश्यकता औँल्याएका छन्।
नेपालको औषधि बजारमा आयात प्रतिस्थापन र रोजगारी सिर्जनामा महत्त्वपूर्ण भूमिका खेल्दै आएको क्वेष्ट फर्मास्युटिकल्स प्रालिको रजत जयन्ती समारोहका वक्ताहरूले नीतिगत सुधारको माग गरेका हुन्।
वि.सं. २०५६ मा स्थापना भई २०५९ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको क्वेष्टले २५ वर्ष पूरा गरेको अवसरमा आयोजित कार्यक्रममा हाल करिब ८० अर्ब रुपैयाँको नेपाली औषधि बजारमध्ये झन्डै आधा हिस्सा स्वदेशी उत्पादनले धानेको अवस्थामा उद्योगहरूको प्राविधिक क्षमता बढाउन राज्यले विशेष प्रोत्साहन दिनुपर्ने विषयमा पनि कुरा उठेको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले क्वेष्ट फर्मास्युटिकल्सले नेपालमै पहिलो पटक सफ्ट जेलाटिन क्याप्सुल र ब्लिस्टर प्याकिङ प्रविधि भित्र्याएर अनुसन्धानको क्षेत्रमा प्रशंसनीय काम गरेको उल्लेख गरे।
नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति हुने क्रममा रहेकाले अब स्वदेशी औषधि उद्योगले बौद्धिक सम्पत्ति अधिकार र अन्तर्राष्ट्रिय प्रयोगशाला मान्यता (एक्रेडिटेसन) जस्ता विषयमा आफ्नो क्षमता बढाउनुपर्ने र यसका लागि सरकारले राष्ट्रिय एक्रेडिटेसन प्रणाली सुदृढ बनाउने प्रतिबद्धता उनले जनाए।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रको खस्कँदो मनोबल उकास्न र उद्योगीका समस्या समाधान गर्न महासंघ, परिसंघ र चेम्बर अफ कमर्सलाई समेटेर सरकारसँग निरन्तर संवाद गर्ने एक 'संयुक्त संयन्त्र' गठनको तयारी भइरहेको जानकारी दिए।
क्वेष्टका कार्यकारी निर्देशक उमेशलाल श्रेष्ठले कम्पनीको २५ वर्षे सफलताको श्रेय ग्राहक, चिकित्सक र कर्मचारीहरूको विश्वासलाई दिँदै अबको यात्रा अनुसन्धान र नवप्रवर्तनतर्फ केन्द्रित हुने बताए। उनले भक्तपुरमा अत्याधुनिक 'इनोभेसन सेन्टर' स्थापना भइरहेको जानकारी दिँदै हालसम्म शतप्रतिशत आयातमा निर्भर रहेका केही जटिल औषधिहरू अब स्वदेशमै उत्पादन गर्ने तयारी भइरहेको खुलासा गरे।
२०७२ सालको भूकम्प र कोभिड–१९ महामारी जस्तो संकटमा पनि स्वदेशी उद्योगले औषधिको आपूर्ति निरन्तर कायम राखेर देशलाई बचाएको स्मरण गर्दै उनले उद्योग प्रवर्द्धन र औषधिको मूल्य समायोजनका लागि स्पष्ट सरकारी नीतिको माग गरे। आगामी दिनमा अन्तर्राष्ट्रिय गुणस्तरलाई थप सुदृढ बनाउँदै उत्पादन क्षमता विस्तार गर्ने कम्पनीको प्रमुख लक्ष्य रहेको उनको भनाइ थियो।
डब्ल्यूएचओ-जीएमपी मापदण्डअनुसार औषधि उत्पादन गर्दै आएको क्वेष्टले हाल १०० भन्दा बढी ब्रान्डका जेनेरिक औषधि उत्पादनमार्फत नेपालको करिब पाँच प्रतिशत औषधिको माग एक्लै आपूर्ति गरिरहेको छ। देशभर १५० भन्दा बढी वितरण सञ्जालमार्फत करिब ३० लाख बिरामीसम्म सेवा पुर्याइरहेको यस कम्पनीमा हाल ६०० भन्दा बढी कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन्।
समारोहमा क्वेष्टका अध्यक्ष शंकर दास श्रेष्ठ, निर्देशकहरू पृथ्वी राजभण्डारी, शैलेन्द्र प्रसाद वर्मा, उत्तमकुमार श्रेष्ठ र एसोसियट डाइरेक्टर आशीष श्रेष्ठले नयाँ पुस्ताले अब डिजिटल रूपान्तरण र अनुसन्धानलाई केन्द्रमा राखेर नेपाली औषधि उद्योगलाई पूर्ण रूपमा परनिर्भरताबाट मुक्त बनाउने दिशामा काम गरिरहेको प्रतिबद्धता जनाए।