धरान- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको उपकुलपतिमा नियुक्त प्रा.डा. स्मृती कार्कीले सोमबारदेखि प्रतिष्ठानमा हाजिर भई आफ्नो पदभार ग्रहण गरेकी छिन्।
प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्रीको गत असार २४ गतेको निर्णयानुसार डा. कार्कीलाई प्रतिष्ठान ऐन, २०४९ को दफा ११ ख (१) बमोजिम उपकुलपति पदमा नियुक्त गरिएको हो। उनी यसअघि प्रतिष्ठानकै प्याथोलोजी विभागको प्रमुख थिइन्।
सोमबार उपकुलपति कार्यालय प्रवेश गर्ने क्रममा डा. कार्कीलाई प्रतिष्ठान परिवार तथा सर्वसाधारणका तर्फबाट फूल, माला, अबिर र खादा लगाएर भव्य स्वागत गरिएको थियो। स्वागत कार्यक्रममा प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख एवं डेपुटी अस्पताल निर्देशक डा. इन्द्र लिम्बू, डीनहरू, सहायक अस्पताल निर्देशकहरू, प्रवक्ता, स्कुल तथा कलेजका चीफहरू, विभागीय प्रमुख, मेट्रोन, शाखा प्रमुखहरू, चिकित्सक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति थियो।
सरकारले प्रतिष्ठानका तत्कालीन उपकुलपति प्रा.डा. विक्रम प्रसाद श्रेष्ठ, शिक्षाध्यक्ष प्रा.डा. संजिव कुमार शर्मा, रजिष्ट्रार प्रा.डा. सूर्य प्रसाद संग्रौला र अस्पताल निर्देशक डा. जगत नारायण प्रसादलाई पदमुक्त गरेपछि नयाँ उपकुलपतिका लागि दरखास्त आह्वान गरेको थियो ।
उक्त पदका लागि १६ जना चिकित्सक तथा प्राध्यापकहरूले प्रतिस्पर्धा गरेका थिए। तीमध्ये सर्टलिस्टमा परेका ७ जनाबाट अन्तिममा प्रा.डा. कार्की उपकुलपतिमा छनोट हुन सफल भएकी हुन्।
नवनियुक्त उपकुलपति प्रा.डा. कार्की प्रतिष्ठानकै उत्पादन हुन्। उनले प्रतिष्ठानबाटै प्याथोलोजी विषयमा स्नातकोत्तर गरेकी हुन्।
प्रतिष्ठानमा हाउस अफिसरको रूपमा सेवा प्रवेश गरेकी डा. कार्कीले प्राध्यापक पदसम्मको प्राज्ञिक यात्रा तय गरेकी हुन्।
यसअघि उनले प्रतिष्ठानको कार्यकारिणी समिति सदस्य तथा विभिन्न महत्त्वपूर्ण समितिहरूको अध्यक्षको रूपमा समेत सफलतापूर्वक जिम्मेवारी सम्हालेकी थिइन्।