गोरखा – जनस्वास्थ्य कार्यालय गोरखाले आर्थिक वर्ष २०८२/८३ मा ९९.४ प्रतिशत भौतिक प्रगति हासिल गर्दै जनस्वास्थ्यका विभिन्न कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरेको जनाएको छ।
कार्यालयले एक वर्षमा ७७.५ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ भने सीमित स्रोत, विभिन्न चुनौती तथा आन्दोलन र निर्वाचनजस्ता परिस्थितिका बीच पनि अधिकांश स्वीकृत कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ।
कार्यालयका अनुसार चालु आर्थिक वर्षका लागि विनियोजित कुल ५ करोड ७६ लाख २० हजार रुपैयाँमध्ये ४ करोड ४६ लाख ६० हजार ४६२ रुपैयाँ खर्च भएको छ। विशेष अनुदानतर्फ सबैभन्दा उच्च ९२ प्रतिशत खर्च भएको छ।
कार्यालय प्रमुख डा. सिमृन काफ्लेका अनुसार यो उपलब्धि कार्यालयको टोली तथा गोरखा जिल्लाका ११ वटै स्थानीय तहका स्वास्थ्यकर्मीहरूको समन्वय र सक्रियताका कारण सम्भव भएको हो।
'देशमा भएको जेन्जी आन्दोलन, चुनावजस्ता अवस्था पार गरेर कार्यालयको टिमको अथक मेहिनेतबाट नै भौतिक प्रगति ९९.४% सम्भव भएको हो,' काफ्लेले भनिन्, 'यसका साथै गोरखा जिल्लाका ११ वटा स्थानीय तहका सम्पूर्ण स्वास्थ्यकर्मीहरूको समेत उत्तिकै भूमिका र साथ सहयोग रहेको छ।'
कार्यालयले नसर्ने रोग तथा मानसिक रोगको परीक्षण (स्क्रिनिङ) कार्यक्रम अन्तर्गत पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, पाठेघर खस्ने समस्या तथा प्रसूति फिस्टुला सम्बन्धी निःशुल्क परीक्षण, उच्च रक्तचाप, मधुमेह, मोटोपना, दीर्घकालीन श्वासप्रश्वास रोग, मानसिक चिन्ता/तनाव, मानसिक निराशा, डिप्रेसन परीक्षणदेखि क्षयरोग पहिचानका लागि एक्स–रे परीक्षण लगायतका कार्यक्रममार्फत हजारौँलाई सेवा दिएको छ। यसका साथै कार्यालयले पोषण लेखाजोखा, बालबालिकाहरूमा बाथ परीक्षण, खोप अभियान लगायतका कार्यक्रमहरू पनि गरेको छ।
महिलाको स्वास्थ्यमा विशेष प्राथमिकताकार्यालयले प्रजनन स्वास्थ्य तथा पाठेघरको मुखको क्यान्सर परीक्षण (भीआइए) अभियान सञ्चालन गरी ११९ महिलाको परीक्षण गरेको थियो। परीक्षणमा ७ जनामा क्यान्सरको प्रारम्भिक संकेत (पोजेटिभ) देखिएपछि सबैलाई तत्काल उपचार सेवा उपलब्ध गराइएको छ। यस्तै १७४ महिलामा स्तन क्यान्सर, पाठेघर खस्ने समस्या तथा प्रसूति फिस्टुलासम्बन्धी परीक्षण गरिएकोमा शंकास्पद बिरामीलाई थप उपचारका लागि रिफर गरिएको छ।
नसर्ने रोगको परीक्षण तथ्याङ्क
कार्यालयले जिल्लाका विभिन्न स्थानीय तहमा सञ्चालन गरेको स्क्रिनिङ कार्यक्रममार्फत १,१६१ जनाको रक्तचाप परीक्षण गर्दा १८५ जनामा उच्च रक्तचाप भेटियो, १,१७१ जनाको मधुमेह परीक्षण गर्दा ६९ जनामा मधुमेह पुष्टि भयो, १,३३५ जनाको मोटोपना परीक्षण गर्दा ८६ जना मोटोपनाबाट प्रभावित भेटिए, १,१२४ जनाको सिओपिडी परीक्षण गर्दा १५२ जनामा दीर्घकालीन श्वासप्रश्वास रोग देखियो।
यस्तै १,५८१ जनाको मानसिक चिन्ता तथा तनाव परीक्षण गर्दा ११९ जनामा समस्या देखियो, १,५८३ जनाको डिप्रेसन परीक्षण गर्दा १२३ जनामा मानसिक निराशाका लक्षण भेटिए। पहिचान भएका सबैलाई आवश्यक परामर्श, उपचार तथा थप सेवाका लागि रिफर गरिएको कार्यालयले जनाएको छ।
एआई प्रविधिबाट क्षयरोग खोज
कार्यालयले पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स आधारित एक्स–रे प्रविधिमार्फत १,६१६ जनाको छाती परीक्षण गरेको छ। यस क्रममा ९३ जनाको खकार परीक्षणका लागि जिन-एक्सपर्ट प्रयोगशालामा पठाइएको थियो भने २४ जनामा क्षयरोग पुष्टि भई उपचार सुरु गरिएको छ।
पोषण र बाल स्वास्थ्यमा उपलब्धि
जिल्लाभर सञ्चालन गरिएको पोषण लेखाजोखा कार्यक्रममा १२ हजार ७८९ बालबालिकाको पोषण अवस्था परीक्षण गरिएको थियो। परीक्षणका क्रममा ५६ जना गम्भीर कुपोषित बालबालिका पहिचान भई उपचारमा ल्याइएको छ।
त्यसैगरी ९८० बालबालिकाको मुटुको इको परीक्षणमार्फत बाथ मुटुरोग स्क्रिनिङ गरिएकोमा ४ जनामा बाथ मुटुरोग, ३ जनामा जन्मजात मुटुरोग पहिचान गरी शल्यक्रियाका लागि रिफर गरिएको कार्यालयले जनाएको छ।
गोरखा ‘पूर्ण खोप सुनिश्चित जिल्ला’
आर्थिक वर्ष २०८२/८३ मा नियमित खोप सेवा, कोल्ड चेन व्यवस्थापन तथा छुटेका बालबालिकाको खोजी अभियान प्रभावकारी रूपमा सञ्चालन भएपछि गोरखा जिल्लाका लागि असार २२ गते 'पूर्ण खोप सुनिश्चित जिल्ला' घोषणा गरिएको छ।
विद्यालय र मानसिक स्वास्थ्यमा विशेष अभियान
जिल्लाका ११४ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई स्वास्थ्य प्रवर्द्धनात्मक विद्यालयसम्बन्धी अभिमुखीकरण प्रदान गरिएको छ भने मापदण्ड पूरा गरेका ९ विद्यालयलाई स्वास्थ्य प्रवर्द्धनात्मक विद्यालयका रूपमा प्रमाणीकरण गरिएको छ।
यसैगरी ४० जना अगुवा कृषकलाई मानसिक स्वास्थ्य शिक्षा, तनाव व्यवस्थापन तथा आत्महत्या रोकथामसम्बन्धी तालिम प्रदान गरिएको छ। विद्यालय तथा समुदायमा किशोरकिशोरी स्वास्थ्य, सुरक्षित मातृत्व, प्रजनन स्वास्थ्य तथा महिनावारी व्यवस्थापनसम्बन्धी कार्यक्रम पनि सञ्चालन गरिएको छ।
मातृ–शिशु स्वास्थ्य सेवामा क्षमता अभिवृद्धि
मातृ तथा नवजात शिशु स्वास्थ्य कार्यक्रमअन्तर्गत जिल्लाका १२ स्वास्थ्य संस्थामा अनसाइट कोचिङ, मेन्टरिङ तथा सुपरभिजन सञ्चालन गरिएको कार्यालयले जनाएको छ। विभिन्न स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा गुणस्तर सुधारका लागि तालिम दिइएको छ।
खानेपानीमा चिन्ताजनक अवस्था
खानेपानीको गुणस्तर परीक्षणमा २२५ नमुनामध्ये १७६ (७८.२२ प्रतिशत) मा ई–कोलाई जीवाणु भेटिएको छ। विशेष गरी शहीद लखन र सिरानचोक गाउँपालिकाका सबै परीक्षण गरिएका नमुनामा जीवाणु भेटिएको प्रतिवेदनले देखाएको छ। कार्यालयले सुरक्षित खानेपानी सुनिश्चित गर्न नियमित परीक्षण, जनचेतना तथा स्थानीय तहसँग समन्वयलाई तीव्र बनाएको जनाएको छ।
स्वास्थ्य सेवाको गुणस्तर सुधारमा जोड
न्यूनतम सेवा मापदण्ड अन्तर्गत आधारभूत अस्पतालहरूको मूल्याङ्कन गरी आवश्यक औषधि तथा उपकरण उपलब्ध गराइएको छ। साथै एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम सञ्चालन गरिएको छ।
कार्यालय प्रमुख डा. सिमृन काफ्लेले आगामी दिनमा स्थानीय, प्रदेश र संघीय सरकारबीचको समन्वय तथा बहुक्षेत्रीय सहकार्यलाई थप सुदृढ गर्दै तथ्यमा आधारित, उत्तरदायी र जनमुखी जनस्वास्थ्य प्रणाली निर्माणमा कार्यालय प्रतिबद्ध रहने बताएकी छन्।