काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिदा स्वीकृत नगराई ६० दिनभन्दा बढी समयदेखि कार्यालयमा अनुपस्थित रहेका २३ जना सरकारी स्वास्थ्यकर्मीलाई सात दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ।
मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार अनुपस्थित कर्मचारीहरूमा नर्स, मेडिकल अधिकृत, मेडिकल ल्याब टेक्निसियन, रेडियोलोजिस्ट, बायोमेडिकल इन्जिनियर तथा जनस्वास्थ्य अधिकृतलगायत रहेका छन्। उनीहरू वीर अस्पताल, कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र र आयुर्वेद चिकित्सालय नरदेवीलगायतका स्वास्थ्य संस्थामा कार्यरत छन्।
मन्त्रालयका अनुसार ती कर्मचारीले बिदा स्वीकृत नगराई लगातार ६० दिनभन्दा बढी कार्यालयमा हाजिर नभई सम्पर्कविहीन रहेको पाइएपछि निजामती सेवा ऐन, २०४९ को दफा ६० तथा स्वास्थ्य सेवा सम्बन्धी प्रचलित कानुनी व्यवस्थाअनुसार स्पष्टीकरण मागिएको हो।
सूचनामा सम्बन्धित कर्मचारीलाई सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आफ्नो अनुपस्थितिको चित्तबुझ्दो कारणसहित लिखित स्पष्टिकरण मन्त्रालयमा पेश गर्न भनिएको छ। तोकिएको अवधिभित्र स्पष्टिकरण पेश नगरे प्रचलित कानुनबमोजिम विभागीय कारबाही अघि बढाइने मन्त्रालयले चेतावनी दिएको छ।
स्पष्टिकरण माग गरिएका कर्मचारीमध्ये अधिकांश वीर अस्पतालमा कार्यरत छन्। साथै कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुर र आयुर्वेद चिकित्सालय नरदेवीका स्वास्थ्यकर्मी पनि सूचीमा समावेश छन्।
मन्त्रालयले सरकारी स्वास्थ्य सेवामा अनुशासन कायम राख्न तथा सेवाप्रवाहलाई प्रभावकारी बनाउन कानुनबमोजिम प्रक्रिया अघि बढाइएको जनाएको छ।
