भरतपुर- बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका नवनियुक्त अध्यक्ष डा. योगेन्द्र प्रसाद (वाइपी) सिंहले अस्पताललाई राष्ट्रिय रूपमा विश्वासिलो र अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त क्यान्सर उपचार, अनुसन्धान, शिक्षा र नवप्रवर्तनको उत्कृष्ट केन्द्रका रूपमा विकास गर्ने आफ्नो पाँच प्रमुख दृष्टिकोण सार्वजनिक गरेका छन्।
अध्यक्ष डा. सिंहले अस्पतालको दीर्घकालीन विकासका लागि गुणस्तरीय क्यान्सर सेवामा सबैको समान पहुँच, डिजिटल रूपान्तरण, अनुसन्धान तथा शैक्षिक उत्कृष्टता, अन्तर्राष्ट्रिय सहकार्य, मानव स्रोत विकास र सुशासनलाई प्राथमिकतामा राख्ने बताएका छन्।
उनका अनुसार पहिलो प्राथमिकता देशका सबै नागरिकले भौगोलिक अवस्था वा आर्थिक हैसियतका कारण उपचारबाट वञ्चित हुन नपर्ने सुनिश्चित गर्नु हो। यसका लागि प्रारम्भिक पहिचान, स्क्रिनिङ, समयमै निदान, सुलभ उपचार, पहुँच विस्तार र प्रभावकारी रेफरल प्रणालीलाई सुदृढ बनाइने उनले बताए।
दोस्रो,प्राथमिकतामा अस्पताललाई डिजिटल रूपान्तरणतर्फ अघि बढाइने योजना रहेको छ। एकीकृत विद्युतीय स्वास्थ्य अभिलेख (इलेक्ट्रोनिक हेल्थ रेकर्ड), डिजिटल डायग्नोस्टिक्स, टेली–अन्कोलोजी, आवश्यकताअनुसार कृत्रिम बौद्धिकता (एआई) को प्रयोग, तथ्यांकमा आधारित निर्णय प्रणाली र स्मार्ट अस्पताल व्यवस्थापनमार्फत सेवा प्रवाहलाई थप प्रभावकारी, सुरक्षित र गुणस्तरीय बनाइने उनले उल्लेख गरेका छन्।
तेस्रो, प्राथमिकताका रूपमा अनुसन्धान, नवप्रवर्तन र शैक्षिक उत्कृष्टतालाई सुदृढ बनाइने उनले बताए। नेपालमै क्यान्सरसम्बन्धी प्रमाणमा आधारित अनुसन्धान, बहुविषयगत अध्ययन, युवा अनुसन्धानकर्तालाई प्रोत्साहन तथा विश्वविद्यालय र अनुसन्धान संस्थासँग सहकार्य विस्तार गरिने उनको योजना छ।
चौथो, प्राथमिकतामा अन्तर्राष्ट्रिय सहकार्यलाई जोड दिँदै डा. सिंहले विश्वका अग्रणी क्यान्सर केन्द्र, अन्तर्राष्ट्रिय संस्था, शैक्षिक प्रतिष्ठान र विकास साझेदारसँग साझेदारी विस्तार गरिने बताए। ज्ञान आदानप्रदान, व्यावसायिक तालिम, संयुक्त अनुसन्धान, प्रविधि हस्तान्तरण तथा अन्तर्राष्ट्रिय सञ्जालमार्फत अस्पतालको सेवा गुणस्तरमा निरन्तर सुधार गरिने उनको भनाइ छ।
पाँचौं, प्राथमिकताका रूपमा उनले अस्पतालका चिकित्सक, नर्स, प्राविधिक तथा कर्मचारीको क्षमता विकासलाई विशेष महत्व दिएका छन्। निरन्तर सिकाइ, व्यावसायिक विकास, टोलीगत कार्य, उत्तरदायित्व र उत्कृष्ट कार्यसंस्कृति विकास गरी दक्ष र उत्प्रेरित जनशक्ति निर्माण गरिने उनले बताए।
अध्यक्ष सिंहले सुशासनलाई संस्थागत विकासको आधारस्तम्भका रूपमा अघि बढाइने स्पष्ट पारे। पारदर्शिता, जवाफदेहिता, इमान्दारिता, वित्तीय दिगोपन तथा प्रभावकारी व्यवस्थापनलाई संस्थाको मूल मार्गदर्शक सिद्धान्त बनाइने उल्लेख गर्दै उनले सार्वजनिक विश्वास नै अस्पतालको सबैभन्दा ठूलो सम्पत्ति भएकाले जिम्मेवार नेतृत्व र नैतिक सेवामार्फत त्यसलाई अझ बलियो बनाइने प्रतिबद्धता व्यक्त गरेका छन्।