काठमाडौं- नेपालका विपद् जोखिमयुक्त क्षेत्रमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवालाई जलवायु-उत्थानशील र निरन्तर बनाउन संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष र प्यानासोनिक होल्डिङ्स कर्पोरेसन बीच सम्झौता भएको छ।
साझेदारी अन्तर्गत नेपालको कर्णाली प्रदेशको जाजरकोट र मधेश प्रदेशको रौतहट जिल्लाका स्वास्थ्य संस्थाहरू तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई १९८ थान प्यानासोनिक सोलार लालटिन प्रदान गरिनेछ। यस पहलबाट वार्षिक रूपमा अनुमानित ४७ हजार ८९८ महिला तथा नवजात शिशुहरू लाभान्वित हुने अपेक्षा गरिएको छ।
काठमाडौँ र टोकियोका प्रतिनिधिहरू सम्मिलित एक अनलाइन समारोहका बीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो। यो पहल जापान सरकारको आर्थिक सहयोग र यूएनएफपीएद्वारा सञ्चालित "नेपालमा मातृ तथा बाल स्वास्थ्य सेवा र अनुकूलन क्षमतामा सुधार" परियोजनाको परिपूरकका रूपमा रहने जनाइएको छ।
जाजरकोट र रौतहट जिल्ला पहिरो, बाढी तथा अत्यधिक चिसो जस्ता चरम मौसमी घटनाहरूको उच्च जोखिममा रहेका छन्। प्राकृतिक विपद्का बेला बिजुली अवरुद्ध हुँदा गर्भवती महिला र नवजात शिशुहरूलाई दिइने सेवामा गम्भीर असर पर्ने गरेको छ। उपलब्ध गराइने सोलार लालटिनले रात्रिकालीन स्वास्थ्य प्रेषण (रेफरल) र स्वास्थ्य स्वयंसेविकाहरूद्वारा गरिने गृहभेट कार्यलाई सहज बनाउनेछन्।
हस्ताक्षर समारोहमा बोल्दै यूएनएफपीए नेपालका प्रतिनिधि श्रीराम हरिदासले भने, 'दुर्गम र विपद्को जोखिममा रहेका समुदायहरूमा अत्यावश्यक स्वास्थ्य सेवाको निरन्तरता प्रायः सरल तर भरपर्दो उपायहरूमा निर्भर हुन्छ। यी सोलार लालटिनहरूले अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरूलाई बिजुली अवरुद्ध भएको अवस्थामा पनि सुरक्षित मातृ तथा नवजात शिशु हेरचाह सेवा प्रदान गर्न मद्दत गर्नेछन्।'
त्यस्तै, प्यानासोनिकको संस्थागत नागरिकता कार्यालयकी महाप्रबन्धक अकियो दोमोतोले कम्पनीको 'लाइट अफ द फ्युचर' पहल मार्फत विद्युतको पहुँच नभएका समुदायहरूमा दिगो विकास, शिक्षा र स्वास्थ्यमा योगदान पुर्याउँदै आएको उल्लेख गरे। उनले भने, 'नेपालका अग्रपंक्तिका स्वास्थ्य संस्थाहरूमा स्वच्छ र भरपर्दो उज्यालो पुर्याएर हामी स्थानीय समुदायहरूलाई सशक्त बनाउन र जलवायु परिवर्तनका चुनौतीहरू विरुद्ध उत्थानशीलता निर्माण गर्न चाहन्छौँ।'
यो सहयोग यूएनएफपीएले यी दुई जिल्लामा सञ्चालन गरिरहेको बृहत्तर जलवायु अनुकूलन अभियानकै एक हिस्सा हो। यस अन्तर्गत हालसम्म २० वटा स्वास्थ्य संस्थाको मूल्याङ्कन, १० वटा स्वास्थ्य संस्थाको जीर्णोद्धार र नौ वटा पालिकामा जलवायु-अनुकूलन योजना निर्माणमा सहयोग पुर्याइसकिएको छ।
सन् २०१३ मा सुरु भएको प्यानासोनिकको 'लाइट अप द फ्युचर' अभियान अन्तर्गत हालसम्म विश्वका ३६ देशमा करिब १ लाख ३० हजार सोलार लालटिन वितरण भइसकेका छन्। सन् २०२२ देखि प्यानासोनिक र यूएनएफपीएले अफ्रिका र एसियाका विभिन्न देशहरूमा यो साझेदारीलाई निरन्तरता दिँदै आएका छन्।