काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको स्वास्थ्य अधिकार, सेवामा पहुँच र आवश्यक नीतिगत सुधारका विषयमा छलफल भएको छ।
मायाको पहिचान नेपाल, समावेशी मञ्च र लिड नेपालका प्रतिनिधिमण्डलले मन्त्री मेहतासँग भेट गरी यस समुदायले स्वास्थ्य सेवा प्राप्त गर्ने क्रममा भोगिरहेका चुनौतीहरूका बारेमा ध्यानाकर्षण गराएका हुन्। भेटमा समुदायका लागि आवश्यक हर्मोन थेरापी, लिङ्ग परिवर्तन शल्यक्रिया तथा समुदायमैत्री स्वास्थ्य सेवाको आवश्यकता लगायतका विषयमा विस्तृत छलफल भएको थियो।
उक्त भेटघाट कार्यक्रममा मायाको पहिचान नेपालका संस्थापक सुनीलबाबु पन्तसहित समुदायका अन्य प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
छलफलका क्रममा मन्त्री मेहताले देशका सबै नागरिकलाई विभेदरहित, सम्मानजनक र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको मुख्य दायित्व भएको बताइन्। उनले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका विशिष्ट स्वास्थ्य आवश्यकताहरूलाई सम्बोधन गर्न आवश्यक नीतिगत तथा प्राविधिक पक्षमा मन्त्रालय सकारात्मक रहेको उल्लेख गरिन्।
सम्बन्धित निकाय तथा सरोकारवालाहरूसँग आवश्यक समन्वय गरी यस समुदायको स्वास्थ्य अधिकार सुनिश्चित गर्न मन्त्रालयकातर्फबाट आवश्यक पहलकदमी अघि बढाइने प्रतिबद्धता समेत मन्त्री मेहताले व्यक्त गरिन्।