काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तयार पारेको प्रस्तावित संगठन संरचनामा हाल कायम रहेको १२ औं तहको अतिरिक्त सचिव पद हटाउने प्रस्ताव गरिएको छ। नयाँ संरचनाअनुसार मन्त्रालयको नेतृत्व सचिवले गर्ने व्यवस्था राखिएको छ भने सचिवमुनि तीनवटा महाशाखा र स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई रहने प्रस्ताव गरिएको छ।
हाल मन्त्रालयमा १२ औं तहको अतिरिक्त सचिवको दरबन्दी रहेको छ। उक्त दरबन्दीमा डा. संगिता कौशल मिश्र र डा. श्रीकृष्ण श्रेष्ठ कार्यरत छन्। तर प्रस्तावित नयाँ संगठन संरचनामा अतिरिक्त सचिवको कुनै व्यवस्था नराखिएकाले यो पद संरचनाबाट हट्ने देखिएको छ।
प्रस्तावित संरचनाअनुसार मन्त्रालयमा सचिवको मातहत नीति, योजना तथा जनस्वास्थ्य समन्वय महाशाखा, स्वास्थ्य, खाद्य स्वच्छता तथा औषधि गुणस्तर नियमन महाशाखा तथा प्रशासन तथा सूचना प्रविधि महाशाखा रहनेछन्। साथै स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापनका लागि छुट्टै इकाई गठन गर्ने प्रस्ताव गरिएको छ।
नीति, योजना तथा जनस्वास्थ्य समन्वय महाशाखाअन्तर्गत नीति, योजना तथा बजेट शाखा, अनुगमन, मूल्याङ्कन तथा अनुसन्धान शाखा तथा स्वास्थ्य समन्वय, जनसङ्ख्या तथा सूचना व्यवस्थापन शाखा रहने व्यवस्था गरिएको छ। यस्तै स्वास्थ्य, खाद्य स्वच्छता तथा औषधि गुणस्तर नियमन महाशाखाअन्तर्गत स्वास्थ्य संस्था मापदण्ड तथा गुणस्तर नियमन शाखा, चिकित्सा सेवा, शिक्षा तथा वैकल्पिक चिकित्सा शाखा तथा खाद्य तथा औषधि गुणस्तर नियमन शाखा रहने प्रस्ताव छ।
त्यसैगरी प्रशासन तथा सूचना प्रविधि महाशाखाअन्तर्गत प्रशासन तथा मानव स्रोत व्यवस्थापन, आर्थिक प्रशासन, कानून तथा सूचना प्रविधि एवं इ–हेल्थ शाखा रहनेछन्।
प्रस्तावित संरचनामा मन्त्रालयअन्तर्गत विभिन्न तहका गरी कुल १,८०६ वटा पुल दरबन्दी रहने उल्लेख गरिएको छ। निजी सचिवालय र सचिवालयका लागि पनि छुट्टै जनशक्ति प्रस्ताव गरिएको छ।
१२ औं तहको अतिरिक्त सचिव पद हटाउने प्रस्ताव अन्तिम निर्णय भने भइनसकेको मन्त्रालय स्रोतले जनाएको छ। अहिले बाहिर आएको प्रारम्भिक ड्राफ्ट मात्रै भएको समेत मन्त्रालयले जनाएको छ।
