काठमाडौं - उपभोक्ता अदालतले प्रसूतिको क्रममा उपचारमा लापरबाही भएको ठहर गर्दै एभरेस्ट अस्पताल र स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. ज्योत्सना शर्मा तिवारीलाई पीडित परिवारलाई कुल ३९ लाख रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको छ।
अदालतले एभरेस्ट अस्पतालबाट ३० लाख र डा. तिवारीबाट ९ लाख रुपैयाँ क्षतिपूर्ति भराउन फैसला गरेको हो। गर्भावस्थामा ‘सिभियर प्रि–एक्लेम्प्सिया’ भएकी मनिता शर्मालाई सिजेरियन शल्यक्रियाअघि अनिवार्य मानिने म्याग्नेसियम सल्फेट औषधि नदिई शल्यक्रियापछि मात्र दिइएकोलाई अदालतले उपचारमा गम्भीर लापरबाही मानेको छ।
विशेषज्ञ चिकित्सकहरूको राय र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को उपचार निर्देशिकाका आधारमा अदालतले चिकित्सक र अस्पताल दुवै उपचार व्यवस्थापन तथा संस्थागत जिम्मेवारीमा चुकेको निष्कर्ष निकालेको हो। उपचारपछि अवस्था जटिल बनेकी मनिताको सात दिनपछि मृत्यु भएको थियो।