काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रस्तावित नयाँ संगठन संरचनाको प्रारम्भिक ड्राफ्ट तयार गर्दा सम्बन्धित महाशाखा प्रमुख तथा प्राविधिक कर्मचारीसँग पर्याप्त छलफल नगरेको भन्दै मन्त्रालयभित्र असन्तुष्टि चुलिएको छ। विशेषगरी हाल कायम रहेको १२औँ तहको अतिरिक्त सचिव पद हटाउने तथा केही महाशाखा र तिनअन्तर्गतका दरबन्दी कटौती गर्ने प्रस्ताव बाहिरिएपछि कर्मचारीहरूले आपत्ति जनाएका हुन्।
शुक्रबार साँझ मन्त्रालयका सचिव डा. विकास देवकोटासँग भेट गरी कर्मचारीहरूले आफ्नो असन्तुष्टि औपचारिक रूपमा राखेका थिए। मन्त्रालयका एक कर्मचारीका अनुसार संगठन संरचना तयार गर्ने क्रममा मुख्यतः प्रशासनतर्फका कर्मचारीलाई मात्र संलग्न गराइएको र सम्बन्धित महाशाखा प्रमुख तथा प्राविधिक पक्षसँग आवश्यक परामर्श नगरिएकाले कर्मचारीहरू असन्तुष्ट बनेका छन्।
भेटका क्रममा सचिव डा. देवकोटाले बाहिरिएको संरचना अन्तिम नभई प्रारम्भिक ड्राफ्ट मात्र भएको स्पष्ट पार्दै यसमा थप छलफल र आवश्यक परिमार्जन गरिने बताएका छन्।
प्रस्तावित संरचनाअनुसार मन्त्रालयको नेतृत्व सचिवले गर्ने व्यवस्था राखिएको छ। सचिवको मातहत नीति, योजना तथा जनस्वास्थ्य समन्वय महाशाखा, स्वास्थ्य, खाद्य स्वच्छता तथा औषधि गुणस्तर नियमन महाशाखा तथा प्रशासन तथा सूचना प्रविधि महाशाखा रहने प्रस्ताव गरिएको छ। साथै स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापनका लागि छुट्टै इकाई गठन गर्ने व्यवस्था पनि समेटिएको छ।
हाल मन्त्रालयमा रहेको १२औँ तहको अतिरिक्त सचिव पद प्रस्तावित संरचनामा समावेश नगरिएकाले उक्त पद खारेज हुने संकेत देखिएको छ। अहिले सो पदमा डा. सङ्गीता कौशल मिश्र र डा. श्रीकृष्ण श्रेष्ठ कार्यरत छन्।
प्रस्तावित संरचनाअनुसार नीति, योजना तथा जनस्वास्थ्य समन्वय महाशाखाअन्तर्गत नीति, योजना तथा बजेट शाखा, अनुगमन, मूल्याङ्कन तथा अनुसन्धान शाखा तथा स्वास्थ्य समन्वय, जनसङ्ख्या तथा सूचना व्यवस्थापन शाखा रहनेछन्। त्यस्तै स्वास्थ्य, खाद्य स्वच्छता तथा औषधि गुणस्तर नियमन महाशाखाअन्तर्गत स्वास्थ्य संस्था मापदण्ड तथा गुणस्तर नियमन शाखा, चिकित्सा सेवा, शिक्षा तथा वैकल्पिक चिकित्सा शाखा तथा खाद्य तथा औषधि गुणस्तर नियमन शाखा रहने प्रस्ताव गरिएको छ।
यस्तै प्रशासन तथा सूचना प्रविधि महाशाखाअन्तर्गत प्रशासन तथा मानव स्रोत व्यवस्थापन, आर्थिक प्रशासन, कानून तथा सूचना प्रविधि एवं इ–हेल्थ शाखा रहने व्यवस्था प्रस्ताव गरिएको छ।
प्रस्तावित संगठन संरचनामा मन्त्रालयअन्तर्गत विभिन्न तहका गरी कुल १ हजार ८०६ पुल दरबन्दी रहने उल्लेख गरिएको छ। निजी सचिवालय तथा सचिवालयका लागि पनि छुट्टै जनशक्ति प्रस्ताव गरिएको छ।
यद्यपि १२औँ तहको अतिरिक्त सचिव पद हटाउने विषयमा अन्तिम निर्णय भइसकेको छैन। मन्त्रालय स्रोतका अनुसार हाल सार्वजनिक भएको दस्तावेज प्रारम्भिक ड्राफ्ट मात्र भएकाले आवश्यक छलफल, सुझाव र परिमार्जनपछि मात्रै अन्तिम संगठन संरचना स्वीकृत गरिनेछ।
