काठमाडौं- सरकारले निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियारलाई नियुक्त गरेको छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सूचना जारी गर्दै सिफारिस समितिले योग्यताक्रमको पहिलो नम्बरमा सिफारिस गरेका परियारलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय भएको उल्लेख गरेको छ।
'निजामती कर्मचारी अस्पतालको रिक्त कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि यस मन्त्रालयको मिति २०८३।३।५ को सूचना बमोजिम आवेदन पेश गरेका उम्मेदवारहरु मध्येबाट सिफारिस समितिको २०८३।४।३ को मूल्याङ्कन सिफारिस एवं अस्पताल विकास समितिको मिति २०८३।४।४ को निर्णय बमोजिम सिफारिस समितिले सिफारिस गरेको योग्यताक्रमको पहिलो नम्बरमा रहेका प्रा. डा. जितेन्द्र परियारलाई उक्त अस्पतालको कार्यकारी निर्देशक पदमा नियुक्ति गर्ने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,' मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ।
रिक्त रहेको निर्देशक पदमा पदपूर्ति गर्न मन्त्रालयले गत ५ असारमा सूचना प्रकाशित गरी आवेदन माग गरेको थियो। त्यसमा आवेदन दिएका प्रतिस्पर्धीहरुमध्येबाट सिफारिस समितिले प्राडा परियारलाई पहिलो नम्बरमा राखि आइतबार सिफारिस गरेको थियो।
सोही सिफारिसको आधारमा अस्पताल विकास समितिको साउन ४ गतेको निर्णयका आधारमा परियारलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरिएको हो।