काठमाडौं- साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा अत्याधुनिक प्रयोगशाला (ल्याब) को उद्घाटन गरिएको छ। प्रयोगशालाको उद्घाटन शङ्खरापुर नगरपालिकाका प्रमुख रमेश नापितले गरेका हुन्।
अत्याधुनिक प्रयोगशालाको उद्घाटन भएसँगै प्रयोगशालासम्बन्धी सम्पूर्ण परीक्षण सेवा एकै स्थानबाट उपलब्ध हुने अस्पतालले जनाएको छ। यससँगै ठाउँको अभावका कारण सेवा प्रवाहमा भएको असहज अवस्थाको अन्त्य भएको अस्पताल प्रशासनको दाबी छ।
अत्याधुनिक उपकरण र दक्ष जनशक्तिसहित सञ्चालनमा आएको प्रयोगशालाले गुणस्तरीय तथा विश्वसनीय परीक्षण सेवा प्रदान गर्ने विश्वास लिइएको छ। यसका साथै आगामी दिनमा अझ गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न आफूहरू प्रतिबद्ध रहेको अस्पतालले जनाएको छ।