काठमाडौं- पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस उत्तीर्ण डा. सितांशु ढकाल मिस नेपाल २०२६ को फाइनलिस्टमा छनोट भएकी छिन्। उनी प्रतियोगितामा प्रतियोगी नम्बर १३ का रूपमा प्रतिस्पर्धा गर्नेछिन्।
चिकित्सा पेशासँगै सामाजिक नेतृत्व र युवा सशक्तीकरणमा सक्रिय डा. ढकालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै विभिन्न क्षेत्रमा योगदान दिँदै आएकी छिन्।
उनी युनिसेफको मेन्टल हेल्थ युथ एड्भोकेटका रूपमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धिमा सक्रिय छिन्। साथै, स्वास्थ्य शिक्षा र जनचेतना फैलाउने उद्देश्यले स्थापना गरिएको 'आरोग्य' संस्थाकी संस्थापक पनि हुन्।
डा. ढकाल सन् २०२३ मा संयुक्त राष्ट्रसंघको मिलेनियम फेलो बन्न सफल भएकी थिइन्। यसअघि डाभोस २०२२ मा समेत नेपालको युवा आवाजका रूपमा सहभागी भई अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति जनाइसकेकी छिन्।
चिकित्सकका रूपमा बिरामीको सेवासँगै मानसिक स्वास्थ्य, स्वास्थ्य सचेतना र युवा नेतृत्वका क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएकी डा. सितांशु ढकालको मिस नेपाल २०२६ को फाइनलिस्टमा छनोटले धेरैको ध्यान आकर्षित गरेको छ। अब उनी प्रतियोगिताको उपाधिका लागि अन्य फाइनलिस्टसँग प्रतिस्पर्धा गर्नेछिन्।