काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले नेपाल औषधि लिमिटेडको अनुगमन गरेकी छिन्। उनले अनुगमनका क्रममा लिमिटेडको वर्तमान अवस्था, उत्पादन क्षमता तथा समस्याबारे जानकारी लिएकी छिन्।
मन्त्री यादवसहित मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीलगायत मन्त्रालयका उच्च अधिकारीहरूको टोली पनि अनुगमनमा सहभागी थिए।
लिमिटेडका महाप्रबन्धक कैलाश पनेरूले मन्त्री यादवलाई दैनिक अत्यावश्यक औषधि उत्पादन भइरहेका विभिन्न उत्पादन कक्षको अवलोकन गराएका थिए। हाल लिमिटेडले २५ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्दै आएको जानकारी दिँदै उनले उत्पादन गरिएका औषधि देशभर पुर्याउन आवश्यक सवारीसाधनको अभाव रहेको गुनासो राखेका छन्।
महाप्रबन्धक पनेरूले जेन–जी आन्दोलनका क्रममा औषधि ढुवानीका लागि प्रयोग हुँदै आएको सवारीसाधन जलेपछि हालसम्म नयाँ सवारीको व्यवस्था हुन नसक्दा वितरणमा समस्या भइरहेको जानकारी गराए। उक्त गुनासो सुनेपछि मन्त्री यादवले मन्त्रालयका सचिव दुवाडीलाई तत्काल आवश्यक सवारीसाधनको व्यवस्था गर्न निर्देशन दिइन्।
सो अवसरमा महाप्रबन्धक पनेरूले वर्षौँदेखि घाटामा रहेको औषधि लिमिटेड यस आर्थिक वर्षमा करिब दुई करोड रुपैयाँ नाफामा जान सफल भएको प्रगति विवरण पनि मन्त्रीसमक्ष प्रस्तुत गरे। उनले जनशक्ति अभावको विषय पनि मन्त्रीलाई सुनाए।
मन्त्री यादवले प्रस्तुत भएका समस्या समाधानका लागि मन्त्रालय आवश्यक समन्वय र सहजीकरण गर्न प्रतिबद्ध रहेको बताउँदै उत्पादन, सेवा विस्तार र संस्थाको दीर्घकालीन सुदृढीकरणमा विशेष ध्यान दिन निर्देशन दिइन्।