काठमाडौं- चर्चित हास्य कलाकार, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला १८ दिनको अस्पताल बसाइपछि डिस्चार्ज भएकी छन्। ब्रेन ट्युमरको सफल शल्यक्रियापछि स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि उनी अस्पतालबाट घर फर्किएकी हुन्।
अस्पतालबाट डिस्चार्ज हुँदै दीपाश्रीले आफ्नो उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, शुभेच्छुक तथा अस्पताल पुगेर स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति आभार व्यक्त गरिन्। उनले आफ्नो १८ दिनको संघर्षलाई महाभारत युद्धसँग तुलना गर्दै भावुक सन्देश पनि दिइन्।
'महाभारत युद्ध पनि १८ दिन नै भएको थियो रे! मेरो जीवनमा अप्रत्यासित रूपमा आएको रोगसँगको संघर्ष पनि १८ दिन नै चल्यो,' उनले उद्घृत गर्दै अभिनेता दिपकराज गिरीले भनेका छन्।
दीपाश्री केही दिनअघि स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना भएकी थिइन्। अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. बसन्त पन्त नेतृत्वको चिकित्सक टोलीले उनको मस्तिष्कमा रहेको ट्युमरको सफल शल्यक्रिया गरेको थियो
नेपाली मनोरञ्जन क्षेत्रमा दशकौँदेखि सक्रिय दीपाश्री निरौला अभिनय, हास्य प्रस्तुति र निर्देशनका माध्यमबाट लोकप्रिय छिन्। विशेषगरी 'छक्का पञ्जा' शृङ्खलालगायतका सफल चलचित्र निर्देशनपछि उनी नेपाली चलचित्र उद्योगकी सफल निर्देशकका रूपमा स्थापित भएकी छन्।