काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले प्रा. डा. गोविन्द केसीको आमरण अनसन तत्काल अन्त्य हुने वातावरण बनाउन सरकारसँग आग्रह गरेकी छन्। उनले डा. केसीका जायज मागहरू ढिलाइ नगरी सम्बोधन गर्नुपर्ने बताउँदै सरकारले संवादमार्फत समाधान खोज्नुपर्ने धारणा व्यक्त गरेकी हुन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै डा. कार्कीले डा. केसीलाई आमरण अनसन बस्नुपर्ने अवस्था नै आउन नहुने उल्लेख गरिन्। उनले सरकारले डा. केसीलाई प्रत्यक्ष प्रधानमन्त्री, शिक्षामन्त्री तथा स्वास्थ्य मन्त्रीसँग छलफल गर्ने वातावरण सिर्जना गर्दै चिकित्सा शिक्षा सुधारका विषयमा सहकार्य गर्नुपर्ने बताइन्।
उनले विगतका सरकारहरूले डा. केसीसँग गरेका सम्झौतासमेत कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै शिक्षामन्त्री र प्रधानमन्त्रीको सचिवालयको ध्यानाकर्षण गराइसकेको जानकारी दिइन्। 'शरीर गलेपछि, आन्दोलन चर्किएपछि, मिडिया जागेपछि र जनदबाब बढेपछि मात्र माग सम्बोधन गर्ने पुरानो प्रवृत्ति दोहोरिनु हुँदैन,' उनले उल्लेख गरेकी छन्।
डा. कार्कीले डा. केसीले गेटास्थित शहीद दशरथ चन्द विश्वविद्यालयको विरोध गरेको भन्ने प्रचार भ्रमपूर्ण रहेको पनि स्पष्ट पारेकी छन्। उनका अनुसार डा. केसीको मुख्य माग गेटामा ३०० शय्याको अस्पताल तत्काल सञ्चालनमा ल्याउने र एमबीबीएस अध्ययन शीघ्र सुरु गर्ने रहेको छ।
उनले सुदूरपश्चिमका लागि गेटामा विशिष्ट सेवासहितको अस्पताल र चिकित्सा शिक्षा विस्तारका लागि डा. केसीले विगतमा गरेको सत्याग्रहकै कारण ठूलो पूर्वाधार निर्माण सम्भव भएको उल्लेख गर्दै त्यस योगदानलाई तोडमोड गरेर प्रस्तुत गर्नु अनुचित हुने बताइन्।
सांसद डा कार्कीले आफूले पनि अघिल्लो कार्यकालमा गेटामा ३०० शय्याको अस्पताल तत्काल सञ्चालन गर्न र सम्बन्धित विधेयक शीघ्र टुंग्याउन संसद तथा संसदीय समितिमा पटक–पटक आवाज उठाएको स्मरण गराइन्। अहिले गेटाको संरचना चिकित्सा शिक्षामै केन्द्रित देशकै एकमात्र शहीद दशरथ चन्द विश्वविद्यालयका रूपमा अघि बढ्नु सकारात्मक उपलब्धि भएको भन्दै यसलाई जोगाउनुपर्ने धारणा व्यक्त गरिन्।
डा. कार्कीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि डा. गोविन्द केसीले सञ्चालन गर्दै आएको अभियानप्रति आफ्नो समर्थन निरन्तर रहने प्रतिबद्धता पनि दोहोर्याइन्। उनले भनिन्, "नेपाली जनताको हित केन्द्रित चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको अभियानमा आदरणीय प्रा. डा. गोविन्द केसीसँग सधैं थिएँ, छु र रहनेछु।"