काठमाडौं - परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको आयोजनामा स्वस्थ शिशु प्रतिस्पर्धा हुने भएको छ।
परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीका अनुसार अस्पतालले प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर यस प्रकारको प्रतिस्पर्धा आयोजना गर्दै आएको छ।
उक्त प्रतिस्पर्धामा सहभागी भई उत्कृष्ट भएका शिशुहरूलाई अस्पतालले पुरस्कार वितरण गर्ने उनले बताए। जसमा ३ क्याटागोरीमा शिशुहरूलाई विभाजन गरिन्छ- जन्मेदेखि ४५ दिनभित्र, ४५ दिनदेखि ६ महिनाभित्र र ६ महिनादेखि १ वर्षभित्र।
हाल अस्पतालले तीनै क्याटागोरीका फरक-फरक शिशुहरूलाई प्रतिस्पर्धामा सामेल गराउनका लागि फाराम वितरण गरिरहेको डा. अधिकारी बताउँछन्। उक्त प्रतिस्पर्धामा भाग लिनका लागि एक महिनाभित्र आवेदन दिइसक्नुपर्नेछ।
प्रतिस्पर्धापश्चात् बालरोग, गाइनो तथा अन्य चिकित्सकहरूको टोलीले बच्चाको सबै पक्षको मापन गरेपश्चात् उनीहरूको श्रेणी विभाजन गरी उत्कृष्टता घोषणा गर्नेछन्।
उक्त छनोट कमिटीले बच्चाको उमेरअनुसारको तौल, माइलस्टोन डेभलपमेन्ट लगायतका पक्ष ठीक भए/नभएको यकिन गरेर उत्कृष्टता घोषणा गर्ने डा. अधिकारी बताउँछन्। प्रतिस्पर्धामा उत्कृष्ट घोषणा भएकामध्ये पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई प्रमाणपत्रसहित पुरस्कृत गरिनेछ।
के आधारमा बच्चालाई उत्कृष्ट घोषणा गरिन्छ?
बच्चा जन्मिएको समयको तौल, उमेरअनुसारको माइलस्टोन डेभलपमेन्ट, बच्चाको शारीरिक बनावट, आइक्यु, पोषण लगायतका पक्षहरू बच्चाको उत्कृष्टता छनोटका आधार हुने डा. अधिकारी बताउँछन्। यसका साथै बच्चाकी आमाले स्तनपान गराउँछिन् या गराउँदिनन्, परिवार नियोजनका साधनको प्रयोग गरे या गरेनन्, सरसफाइको अवस्था लगायतका पक्षहरूको समेत अध्ययन गरिनेछ।
प्रतिस्पर्धामा सहभागी हुनका लागि शिशु प्रसूति गृहमा नै जन्मिएको हुनुपर्ने अनिवार्य नियम रहेको छ।